Logo

बालबालिकाको व्यक्तित्व विकासका लागि अर्जुनधारामा दुईदिने तालिम



झापा, १८ साउन । झापाको अर्जुनधारामा बालबालिकाको नेतृत्व क्षमता र सार्वजनिक रूपमा बोल्ने सीप विकास गर्ने उद्देश्यले आयोजित दुईदिने नेतृत्व विकास, उद्घोषण तथा वक्तृत्वकला तालिम सम्पन्न भएको छ।

भ्वाइस अफ नेपाल, अर्जुनधारा–१० को आयोजनामा साउन १६ र १७ गते सञ्चालन गरिएको तालिममा अर्जुनधारा नगरपालिका–९ र १० का निजी तथा सामुदायिक विद्यालयमा अध्ययनरत १६ वर्षमुनिका सयौं विद्यार्थीको सहभागिता रहेको थियो।

कार्यक्रम संयोजक सञ्जीव गोम्देनका अनुसार विद्यार्थीले कक्षा, बाल क्लब तथा विभिन्न सार्वजनिक कार्यक्रममा आत्मविश्वासका साथ आफ्नो धारणा प्रस्तुत गर्न सकून् भन्ने उद्देश्यले तालिम आयोजना गरिएको हो।

संस्थाका अध्यक्ष सन्दीप सिंह गोम्देनले पछिल्लो समय बालबालिकामा लागूपदार्थको प्रयोग र मोबाइलको अत्यधिक प्रयोग बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै त्यसबाट जोगाउन रचनात्मक गतिविधिमा सहभागी गराउने उद्देश्यले संस्था स्थापना गरिएको बताए। उनका अनुसार अभिभावकको सुझावअनुसार हरेक साता बालबालिकालाई सरसफाइ, गायन, नृत्य, चित्रकला, नेतृत्व विकासलगायतका अतिरिक्त क्रियाकलापमा सहभागी गराएर सकारात्मक सोच र सामाजिक उत्तरदायित्वको विकास गराउने प्रयास भइरहेको छ।

उनले गत महिना अर्जुनधारा–९ स्थित कालिस्थान माध्यमिक विद्यालय र श्री आधारभूत विद्यालयमा विभिन्न अतिरिक्त कार्यक्रम सञ्चालन गरी विद्यार्थीको प्रतिभा पहिचान गर्दै पुरस्कार वितरण गरिएको जानकारी दिए। यसै महिनाभित्र बालज्योति आधारभूत विद्यालय र जुनकीरी सार्वजनिक आधारभूत विद्यालयमा पनि यस्तै कार्यक्रम सञ्चालन गरिने उनले बताए।

दुईदिने तालिमको सहजीकरण जुनकीरी सार्वजनिक आधारभूत विद्यालय, अर्जुनधारा–११ का प्रधानाध्यापक रञ्जित परियारले गरेका थिए। तालिममा सहभागी विद्यार्थीले नेतृत्व विकास, प्रभावकारी उद्घोषण तथा आत्मविश्वासका साथ सार्वजनिक रूपमा बोल्ने सीपबारे व्यावहारिक प्रशिक्षण प्राप्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्