Logo

रोकिएको मतगणना सुरु नगरिए सडक संघर्ष: कुसियैत



सुनसरी, १२ मंसिर । सुनसरी क्षेत्र नम्बर-४ बाट उमेदवार रहेका नेकपा (एमाले)का नेता जगदीशप्रसाद कुसियैतले रोकिएको मतगणना तत्काल सुरु गर्न माग गरेका छन् ।

सोमबार पत्रकार सम्मेलन गर्दै उनले मतगणना रोकिएको लामो समय बित्दा पनि अनिर्णयको बन्दी भएको भन्दै तत्काल गणना सुरु गर्न माग गरेका छन् ।

उमेदवार कुसियैतले तत्काल कुनै निर्णय नभए सडक संघर्ष सुरु गर्ने बताएका छन् । समय लम्बिँदै जाँदा कार्यकर्ता अशान्त बन्दै गएको उनको भनाइ छ ।

कुनै अप्रिय परिस्थिति उत्पन्न भए त्यसको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका नेपाली कांग्रेसका उमेदवार ज्ञानेन्द्रबहादुर कार्कीले लिनुपर्ने उनले बताए ।

यहाँ मतगणनाका क्रममा धाँधली भएको भन्दै उमेदवार कार्कीले पुनः गणनाको माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् । आयोगबाट कुनै निर्णय नआएको भन्दै मतगणना अनिश्चित बनेको छ । शनिबार अपराह्न करिब ४ बजेदेखि रोकिएको मतगणना अझै सुरु हुनसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्