Logo

मोर्चा बनाएर तेस्रो शक्ति बन्ने कसरत



काठमाडौँ, २ चैत । सत्ता गठबन्धनमा रहेका तीन दलले संसद्मा तेस्रो बलियो शक्तिका रूपमा स्थापित हुन गृहकार्य थालेका छन् । नेपाली कांग्रेस र नेकपा एमालेपछि संसद्मा तेस्रो बलियो शक्ति बनाउने गृहकार्यमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (नेकपा एस) र जनता समाजवादी पार्टी (जसपा) जुटेका हुन् । हाललाई समाजवादी मोर्चा बनाएर अघि बढ्न खोजेका यी दलबीच भविष्यमा एकतासमेत हुन सक्ने बताइएको छ । उनीहरूले यसलाई राजनीतिमा तेस्रो धारको रूपमा पनि परिभाषित गर्न खोजेका छन् ।

तीन दलको मोर्चा बने संसद्मा यो तेस्रो शक्ति बन्नेछ । यो शक्तिलाई हातमा नलिई कसैले पनि सरकार बनाउन नसक्ने अवस्था सिर्जना गर्न मोर्चा बनाउन लागिएको नेकपा एसका एक नेताले बताए । प्रतिनिधिसभामा माओवादी केन्द्रका ३२, नेकपा एसका १० र जसपाका १२ सांसद छन् । यी तीन दलको मोर्चा बने सांसदको यो संख्या ४४ पुग्नेछ । प्रतिनिधिसभामा सबैभन्दा ठुलो दल कांग्रेसका ८९ र दोस्रो ठुलो एमालेका ७८ सांसद छन् । ‘तेस्रो धार निर्माण गरेर कांग्रेसलाई पनि यो धार बाहिर रहेर सरकार बनाउन नसक्ने र एमालेलाई पनि सरकार बनाउन कठिन बनाउने उद्देश्य राखिएको छ,’ स्रोतले भन्यो ।

सत्ता गठबन्धनभित्रै रहेका जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले कार्यगत मोर्चा बनाएका छन् । उक्त मोर्चाबाट डराएका जसपा अध्यक्ष उपेन्द्र यादवले समाजवादी मोर्चाका लागि आफू तयार भएको संकेत गरेपछि माओवादी केन्द्र र नेकपा एस त्यसतर्फ अग्रसर भएका हुन् । नेकपा एसका प्रवक्ता एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले संसद्मा तेस्रो शक्तिका रूपमा उपस्थित हुन समाजवादी मोर्चा निर्माणको पहल भइरहेको पुष्टि गरे । ‘संसद्मा बलियो तेस्रो शक्तिको आवश्यकता महसुस भएको छ, यसबारे विभिन्न दलसँग कुराकानी भइरहेको छ,’ उनले भने।

माओवादी केन्द्रले यसअघि नै यस्तो प्रस्ताव गरेको थियो तर जसपा र नेकपा एस राजी नभएपछि त्यो प्रस्ताव अघि बढ्न सकेको थियो । अहिले आएर नेकपा एस र जसपा सकारात्मक बनेपछि गृहकार्य अघि बढाइएको हो । केही दिनअघि माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले चाँडै समाजवादी केन्द्र निर्माण हुने र त्यसको घोषणाको तयारी भइरहेको बताएका थिए । त्यसलगत्तै नेताहरूले संसद्मा वैकल्पिक धार निर्माणको तयारी थालेका हुन् । उनीहरू संसद्को अंक गणितलाई समेत ध्यान दिएर अघि बढिरहेका छन् । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्