Logo

काम नगर्ने ठेकेदारलाई कारबाही गर्न निर्देशन



काठमाडौँ, २२ वैशाख । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले हुलाकी राजमार्गअन्तर्गत बेतौना-विराटनगर सडकखण्डको काम नगर्ने निर्माण कम्पनीलाई कारवाही अघि बढाउन निर्देशन दिएका छन् ।

मन्त्री ज्वालाले सडक विभाग र इटहरी कार्यालयका आयोजना प्रमुखलाई टेलिफोन गरी तत्काल निर्माण कम्पनीलाई कारवाही गर्न निर्देशन दिएका हुन् । उनले समस्या तत्काल समाधान गर्न मातहतका निकायलाई निर्देशन दिए ।

बेतौनादेखि विराटनगरसम्मको झन्डै १८ किलोमिटर सडक निर्माणका लागि सञ्चालित दुई ठेक्काको निर्माण एक महिनादेखि ठप्प छ । निर्माण रोकिएपछि इटहरी कार्यालयले निर्माण व्यवसायीलाई पत्राचार गरिसकेको छ ।

निर्माण सम्पन्न गर्ने गरी तत्काल काम अघि नबढाए निर्माण व्यवसायीलाई सार्वजनिक खरिद ऐन, नियमावली तथा ठेक्का सम्झौताका सर्तबमोजिम कारवाहीको प्रक्रिया अगाडि बढाउने आयोजनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्