Logo

विद्यार्थी र अभिभावकको रोजाईमा मोहनमाया विद्यालय



झापा, २७ वैशाख । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्किएको बेला बिर्तामोड नगरपालिका वडा नं.२ चारपानेको मोहनमाया माध्यमिक विद्यालयमा भने सबै विद्यार्थीले भर्ना हुन पाउँदैनन् । सामुदायिक विद्यालयमा भर्ना हुने विद्यार्थीको संख्या न्यून हुँदै गएको अवस्थामा मोहनमायामा अध्ययन गर्न विद्यार्थीले प्रवेश परीक्षा दिनु पर्दछ । विद्यार्थीको संख्या अत्याधिक बढन् थालेपछि विद्यालयले प्रवेश परीक्षा लिन थालेको हो ।

२०२४ सालमा स्थापना भएको मोहनमाया माविमा नर्सरीदेखि कक्षा ७ सम्म अङ्ग्रेजी माध्यमबाट तथा कक्षा ८ बाट कक्षा १२ सम्म भने अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पढाइ हुने गरेको छ । अतिरिक्त क्रियाकलापमासमेत विद्यालय उत्कृष्ट भएकाले विद्यार्थीको रोजाईमा परेको प्रधानाध्यापक शेरबहादुर श्रेष्ठले जानकारी दिए ।

प्रधानाध्यापक श्रेष्ठका अनुसार अभिभावकहरु आफना बालबालिकालाई लिएर टाढा-टाढाबाट विद्यालयमा भर्ना गर्न आए पनि सिमित विद्यार्थीलाई मात्र विद्यालयमा भर्ना गर्ने अवस्था रहेको छ ।

उनी भन्छन्, हाम्रो विद्यालयमा विद्यार्थी र अभिभावकहरुलाई पढने र पढाउने धेरैको इच्छा हुन्छ । तर, भौतिक पूर्वाधारको कमीले सबै विद्यार्थी भर्ना गर्न सकिरहेका छैनौं । यस वर्ष एक हजार विद्यार्थीले भर्नाका लागि फर्म भरेका थिए । ६ सय विद्यार्थीले प्रवेश परीक्षा दिएकोमा १२० जनाले भर्ना पाएका छन् ।

शिक्षक र कर्मचारीको मेहेनत र लगनशीलताले विद्यालयले प्रगति गरेको प्रधानाध्यापक श्रेष्ठले बताए । उनले भने, विद्यालयमा योजना बनाउने, सामूहिक छालफल, समस्याको छलफलबाट समाधान निकाल्ने कार्यले विद्यार्थीहरुमा सकारात्मक प्रभाव परेको छ, यसले विद्यार्थीको नतिजा राम्रो ल्याउन सहयोग गरेको छ ।

बिर्तामोड नगरपालिकाभित्र रहेका निजी र सामुदायिक विद्यालयमध्ये गत सालको एसईई परीक्षामा नगरभरी कै उत्कृष्ट विद्यालयका रुपमा मोहनमाया मावि सम्मानित भएको श्रेष्ठले बताए । रमणीय वातावरणमा सुविधासम्पन्न कक्षा कोठा रहेको विद्यालयमा प्रत्येक कक्षामा स्मार्ट बोर्ड, प्रोजेक्टर, पानीको व्यवस्था र विद्यार्थीलाई गल्ती गर्दा कुटाइको साटो परामर्श प्रदान गर्ने गरिएको प्रधानाध्यापक श्रेष्ठले बताए ।

मोहनमाया माविमा शिक्षक, प्रधानाध्यापक, सञ्चालक समिति र अभिभावकबीच कुनै द्वन्दको अवस्था सिर्जना नभएर प्राणाली अनुसार सबैले आफ्नो कर्तव्य मानेर सबै लगनशील हुने गरेकाले मोहनमाया मावि नगरभरिकै उत्कृष्ट विद्यालयका रुपमा रहेको विद्यालयका आधारभूत तहका इन्चार्ज मुकुन्द ढकालले बताए ।

ढकालका अनुसार मोहनमाया मावि नगर क्षेत्रमै उत्कृष्ट विद्यालय भएको गत सालको एसईई र यस वर्षको कक्षा ८ को परीक्षामा विद्यार्थीले ल्याएको नतिजाले अन्य सामुदायिक र निजी विद्यालयभन्दा पृथक रहेको छ ।

मोहनमाया माविमा सैद्धान्तिक मात्र नभएर व्यवहारिक ज्ञान पनि सिकाउने गरिएको छ, त्यसैले विद्यार्थी र अभिभावकको रोजाईमा विद्यालय पर्ने गरेको स्कुल क्याप्टेन श्रद्धा न्यौपाने बताउँछिन् ।

उनी भन्छिन्, पढाइ मात्र ठूलो कुरा होइन, हामीलाई व्यवहारिक ज्ञान पनि आवश्यक रहेको हुन्छ, त्यसलाई पनि विद्यालयले हरेक क्षेत्रलाई मध्यनजर गरेर विद्यार्थीको चौतर्फी विकासमा धेरै ध्यान दिने गरेको छ ।

मोहनमाया माविमा यसै वर्षबाट अध्ययन गर्न सुरु गरेकी ओसिना खरेलका अनुसार सबैतिर मोहनमायाको चर्चा सुनेर आफूले पढ्दै गरेको निजी विद्यालय छोडेर यहाँ पढ्न आएको र आफूले पहिले पढेको विद्यालय भन्दा यहाँको पढाइमा निकै फरक पन पाएको उनी बताउँछिन् ।

विद्यालयको पढाइ निकै राम्रो रहेको छ, प्रधानाध्यापक र शिक्षकको लगनशीलताले नानीहरुलाई पढौँ-पढौँ लाग्ने वातावरण भएकाले आफुले नजिकैका सामुदायिक र निजी विद्यालयलाई छोडेर घरबाट धेरै टाढा रहेर पनि यहाँ सिकाइको प्रक्रिया अरु विद्यालय भन्दा फरक भएकाले मोहनमाया रोजेको अभिभावक तुलसा ढवाडीले बताइन् ।

मोहनमाया माविको सिकाइबाट प्रभावित भएर आफूले पढ्दै गरेको विद्यालयलाई छोडेर यहाँ पढ्न आएको अर्का विद्यार्थी आश्वरी कर्णले बताए ।

उनी भन्छन्, ‘म निजी विद्यालयमा पढ्ने विद्यार्थी भएपनि मेरो बाबा यहाँ पढाउने भएकाले कहिलेकाहीँ विद्यालय आउँदा त्यति खेरदेखि नै यहाँको सिकाइमा प्रभावित भएर यहाँ पढ्ने इच्छा भएकाले आफूले पढ्दै गरेको विद्यालय छोडेर मोहनमायामा पढ्ने रहर भएकाले यहाँ भर्ना हुन् आएको हुँ ।’

मोहनमाया मावि जस्ता सरकारी विद्यालयको शैक्षिक गुणस्तरमा सरकारको थप लगानी हुन सके सबै सामुदायिक विद्यालय हरेक अभिभावक र विद्यार्थीको रोजाईमा पर्दैनन भन्ने कुरामा कुनै दुई मत छैन ।

प्रतिक्रिया दिनुहोस्