Logo

निजी भन्दा कम छैन, सामुदायिक विद्यालय



झापा, १ जेठ । बिर्तामोड नगरपालिका वडा नं.१० को श्री लक्ष्मीनारायण आधारभूत विद्यालय विद्यार्थी र अभिभावकको रोजाईमा पर्दै आएको छ ।

विद्यालयमा अङ्ग्रेजी माध्यमबाट गुणस्तरीय पढाइ हुने भएपछि विद्यार्थी र अभिभावकको रोजाईमा परेको हो । नर्सरीदेखि कक्षा पाँचसम्म नयाँ प्रविधिको प्रयोग गरेर पढाइने हुँदा विद्यार्थीको आकर्षण बढेको प्रधानाध्यापक जनकबहादुर थापाले बताए । कक्षा ५ उत्तीर्ण गरेका विद्यार्थी नाम चलेका सामुदायिक र निजी विद्यालयमा जाने गरेका छन् ।

शिक्षक र अभिभावकको मेहनतले विद्यालयमा सुधार आएको प्रधानाध्यापक थापाले बताए । उनले विद्यार्थीको मनोभावनालाई बुझेर अध्ययन गराउँदा प्रभावकारी हुने बताए । उनले भने, सरकारी विद्यालयप्रतिको वितृष्णा यो विद्यालयमा छैन ।

विद्यालयले नेपाल सरकारको मापदण्ड अनुसार विद्यार्थीलाई दिवा खाजाको व्यवस्था गरेको छ । प्रधानाध्यापक थापाले समुदायले विद्यालयमा कक्षा वृद्धि गर्न माग गर्दै आएको बताए । उनले भने, माध्यमिक तह हुन सके विद्यार्थीले अन्यत्र पढ्न जानु पर्ने बाध्यता हट्ने थियो ।

बिर्तामोड नगरपालिका र विभिन्न संघसंस्थाले गरेको सहयोगले विद्यालयको भौतिक तथा शैक्षिक विकास भएको छ । प्रधानाध्यापक थापाले भने, वास्तविक बोर्डिङ भनेको कस्तो हुनुपर्छ भन्ने कुरा हाम्रो विद्यालयमा देखिन्छ ।

बालबालिका विद्यालय आउन नमाने शिक्षक घरमै गएर विद्यार्थीलाई सम्झाउने गर्दछन् । तीन वर्ष अघिसम्म विद्यालयमा विद्यार्थीको संख्या न्युन थियो । विद्यार्थी र अभिभावको कुनै चासो थिएन । तर, सुधार आरम्भ भएपछि विद्यार्थी र अभिभावकको रोजाईमा परेको छ । विद्यालयले नमूना विद्यालयको पहिचान बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्