Logo

सन् २०२५ लाई विशेष पर्यटन वर्षका रूपमा मनाउने घोषणा



काठमाडौँ, ५ जेठ । सरकारले सन् २०२५ लाई विशेष पर्यटन वर्षका रूपमा मनाउने घोषणा गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको आगामी आव २०८०/०८१ को नीति तथा कार्यक्रममा विशेष पर्यटन वर्ष मनाउने घोषणा गरेका हुन् ।

संवत् २०८० को दशकलाई नेपाल भ्रमण दशकका रूपमा मनाएर र सन् २०२५ लाई विशेष पर्यटन वर्षका रूपमा मनाइने नीति तथा कार्यक्रममा भनिएको छ । कोरोना महामारीबाट शिथिल बनेको मुलुकको पर्यटन विस्तारै लयमा फर्किरहेको छ । सन् २०२३ को हरेक महिना झण्डै प्रति महिना एक लाख विदेशी पर्यटक आइरहेका छन् ।

नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०२३ को चार महिनाको अवधिमा तीन लाख २६ हजार पाँच सय २७ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । यसअघि सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाएर वार्षिक २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित भ्रमण वर्षको शुभारम्भ गरे पनि महामारीका कारण उक्त कार्यक्रम स्थगित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्