Logo

सुधारको मार्गमा पञ्चरत्न माध्यमिक विद्यालय



बिर्तामोड, १३ जेठ । बिर्तामोड नगरपालिका वडा नं. २ चैतुबारीमा रहेको श्री पञ्चरत्न माध्यमिक विद्यालयमा भर्ना हुने विद्यार्थीको संख्या कमश: बढ्दै गएको छ ।

२०२४ सालमा कटेरोबाट सुरु गरिएको विद्यालयमा आज सुविधासम्पन्न भौतिक संरचना रहेको छ । विद्यालयमा प्रविधिमैत्री अध्यापन हुन थालेपछि विद्यार्थीको संख्या बढ्दै गएको प्रधानाध्यापक योगेन्द्रमणी दाहालले बताए ।

विद्यालयमा भएको भौतिक तथा शैक्षिक सुधारको जानकारी शिक्षक र व्यवस्थापन समितिले स्थानीय अभिभावकलाई दिने गरेका छन् । विद्यालयमा भएको सुधारको जानकारी अभिभावकलाई गराएपछि विद्यार्थीको संख्या बढ्दै गएको प्रधानाध्यापक दाहाल बताउँछन् । विद्यालयमा विज्ञान प्रयोगशाला, पुस्तकालय, कम्प्युटर कक्षा, द‍क्ष शिक्षकबाट अध्यापन हुने गर्दछ । शिक्षकले प्रोजेक्टरको प्रयोग गरेर अध्यापन गराउन सक्ने व्यवस्था छ । उनी भन्छन्, राम्रा कुरालाई ग्रहण गर्ने र कमजोरी घटाउँदै लाने नीतिले विद्यालयमा सुधार भएको हो ।

मजदुरी र खेतीपाती गर्ने अभिभावकको संख्या धेरै रहेकाले विद्यालयमा राजवंशी, सन्थाल, जनजाति समुदायका बालबालिकाको संख्या बढी रहेको छ । अन्य समुदायका विद्यार्थी पनि त्यत्तिकै छन्, प्रधानाध्यापक दाहालले भने ।

प्रधानाध्यापक दाहालले बिर्तामोड नगरपालिका र वडाबाट प्रत्येक आर्थिक वर्षमा विद्यालयबाट केही न केही सहयोग प्राप्त गरिरहेको बताए । उनले विद्यालयको आवश्यक्ता र मागका आधारमा बिर्तामोड नगरपालिका, शिक्षा शाखा र सरोकारवालाहरुले सहयोग गर्ने गरेको बताए ।

विद्यालयमा अध्ययनरत विद्यार्थी निकिशा बेघाले विद्यालयको पढाइ र वातावरण राम्रो रहेकाले विद्यालय आफ्नो रोजाइमा परेको बताइन् । अर्का विद्यार्थी गोविन्द गोस्वामीले भने, शिक्षकले साथीभाइ जस्तो गरेर पढाउनु हुन्छ, राम्रो लाग्छ ।

विद्यालय शिक्षक र विद्यार्थीबीच सुमधुर सम्बन्ध रहेको छ । विद्यालयमा कसैलाई केही समस्या भए सहयोगी व्यवहार गरिन्छ । शिक्षक, विद्यार्थीबीचको प्रेमपूर्ण सम्बन्धको अभ्यासले विद्यालयमा सुधार हुँदै गएको छ ।

प्रतिक्रिया दिनुहोस्