Logo
  बैशाख ७, २०८१ शुक्रबार

दिवा खाजाले मर्ज हुनबाट जोगाएको आधारभूत विद्यालय



बिर्तामोड, १५ जेठ । दिवा खाजा र पाठ्यपुस्तकको व्यवस्थाले बिर्तामोड नगरपालिका वडा नं.१० को चमरधाप आधारभूत विद्यालयमा विद्यार्थीको संख्या बढ्दै गएको छ ।

भौतिक संरचना र दक्ष शिक्षक भएपनि विद्यालयमा विद्यार्थीको संख्या न्युन रहेको थियो । तर, विद्यालयले विद्यार्थीका लागि खाजा र पाठ्यपुस्तक व्यवस्था गरेपछि विद्यार्थीको संख्या बढेको प्रधानाध्यापक देवीप्रसाद पोखरेलले बताए । उनले भने, गत वर्षसम्म विद्यालयमा भर्ना संख्या २५ देखि ३० जना थिए, अहिले क्रमश: सुधार हुँदै ७३ जना पुगेका छन् ।

प्रधानाध्यापक पोखरेलले नगरपालिका, वडा र स्थानीय संघसंस्थाको सहयोगमा किताब, कपि, दिवा खाजाको व्यवस्था गरिएको छ भने आगामी वर्षदेखि वडाले टाढाका विद्यार्थी ल्याउन सवारी साधनको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्ति गरेको बताए । उनले विद्यालयको अवस्था सुधार गर्न सबै लागि परेको बताए ।

विद्यालयमा आर्थिक अवस्था कमजोर भएका समुदायका बालबालिका अध्ययन गर्ने भएकाले विद्यार्थीले कक्षा छाड्ने प्रवित्ती धेरै छ । प्रधानाध्यापक पोखरेलले कुनैकुनै विद्यार्थी खानै नखाइ विद्यालय आउने, खाना खानकै लागि विद्यालय छाडेर अन्यकोमा गाईबाख्रा हेर्ने, घाँस काट्ने जस्ता कार्य गर्ने गरेको बताए । उनले भने, त्यस्ता विद्यार्थीलाई गाउँ-गाउँबाट खोजेर ल्याउनु पर्ने अवस्था छ ।

नर्सरीदेखि कक्षा तीनसम्म अध्ययन हुने यस विद्यालयमा विद्यार्थीको संख्या न्युन हुँदा नगरपालिकाले मर्ज गर्ने तयारी गरेको थियो । तर, सबैको प्रयासले मर्ज हुने अवस्था हटेको छ, प्रधानाध्यापक पोखरेलले भने ।

उनले अभिभावक, विद्यालय व्यवस्थापन समिति र जनप्रतिनिधिको सक्रियताले मर्ज हुन लागेको विद्यालय जोगिएको बताए । विद्यालयका भौतिक संरचना तथा शैक्षिक स्तरमा सुधार हुँदै गएको बताए ।

भौतिक संरचना पर्याप्त भएपनि विद्यालयमा कक्षा तीनसम्म मात्र अध्यापन हुने भएकाले सा-साना बालबालिका दाजुदिदीसँगै जाने भएकाले सोचे अनुरुप विद्यार्थी नभए पनि विद्यालयको स्थिति पहिले भन्दा क्रमश: सुधार हुँदै गएको बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रिमानधोज लोक्तामले भौतिक संरचना आधारभूत तहसम्म जसोतसो पुगे पनि विद्यालयले स्थापनाकाल देखि नै आर्थिक सङ्कट भोग्दै आएको बताए ।

सरकारको नीति अनुरुप प्राप्त भएको प्रावि कोटालाई सदुपयोग गरेर स्थानीय शान्तिराम आचार्यको घरमा कोठा लिएर विद्यालय सुरु गरेका आचार्यले नै उपभोग गर्दै आएको ऐलानी जग्गा विद्यालयलाई उपलब्ध गरेपछि त्यहीँ जग्गामा सानो झुपडी हुँदै सुरु भएको विद्यालय आज सुविधासम्पन्न कक्षा कोठामा विद्यार्थीलाई अध्ययन गराउने स्थिती पुगेको छ ।

अभिभावकले कक्षा वृद्धि र अङ्ग्रेजी माध्यमबाट पढाई होस् भन्ने चाहना राखेका छन् । टाढाबाट आउने विद्यार्थीलाई यातायातको व्यवस्था गर्न अभिभावकले माग गर्दै आएका छन् । नगरपालिका, वडा कार्यालय र स्थानीयले यातायातको व्यवस्था गर्ने पहल गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्