Logo

संस्कृत विद्यालय: जहाँ अध्ययन गर्न प्रवेश परीक्षा दिनु पर्छ



बिर्तामोड, २० जेठ । संस्कृत भाषालाई रुढिवादी, पुरातन र ब्राम्हणवादी भाषा भनेर आलोचना र टिप्पणी गर्ने गरिन्छ । संस्कृत धेरै भाषाको जननी हो । धार्मिक तथा सामाजिक कार्यमा मात्र होइन, भाषा, व्याकरण र साहित्यको अध्ययनमा पनि संस्कृत भाषाको महत्व रहेको छ । यसर्थ, पछिल्ला वर्षमा संस्कृत शिक्षाप्रति विद्यार्थीको आकर्षण बढ्दै गएको छ ।

बिर्तामोड नगरपालिका वडा नं.२ चारपाने स्थित श्री साङ्गवेद संस्कृत माध्यमिक विद्यालयमा अध्ययन गर्न चाहने विद्यार्थीको संख्या बढेपछि प्रवेश परीक्षा लिन थालिएको छ । कक्षा ४ देखि १२ सम्म अध्यापन हुने यस विद्यालयमा सामुदायिक मात्र नभएर निजी विद्यालयका विद्यार्थी समेत अध्ययनका लागि आउने गरेका छन् । विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको चाप बढेपछि कक्षाकोठाको अभावले गर्दा प्रवेश परीक्षा लिन थालेको प्रधानाध्यापक छविराज रेग्मीले बताए ।

उनका अनुसार विद्यालयमा पंडित-पुरोहित्याइ मात्र नभएर अङ्ग्रेजी, गणित, साहित्य र व्याकरण जस्ता विषय समेत अध्ययन हुन थालेपछी संस्कृत शिक्षामा विद्यार्थीको आकर्षण बढ्दै गएको हो । विद्यालयमा २८० जनाभन्दा बढी विद्यार्थी अध्ययन गर्ने गरेका छन् ।

प्रधानाध्यापक रेग्मीले विद्यालयमा कोशी प्रदेशका प्राय: सबै जिल्ला र देश बाहिरबाट समेत विद्यार्थी अध्ययन गर्न आउने गरेको बताए । उनका अनुसार विद्यालयमा भर्ना भएका १/२ जना विद्यार्थी विभिन्न कठिनाइका कारण नआउने भएपनि अन्य विद्यार्थी भने नियमित आउने गरेको बताउँछन् ।

प्रधानाध्यापक रेग्मी विद्यालयमा विद्यार्थी, विद्यालय व्यवस्थापन समिति र शिक्षकबीच अत्यन्त राम्रो सम्बन्ध रहेको बताए । उनी भन्छन्, विद्यालय व्यवस्थापन समितिको निर्देशनमा विद्यालय सञ्चालन हुँदै आएको छ ।

बिर्तामोड नगरपालिकाले अन्य विद्यालयमा दिने सरहको सहयोग दिँदै आएको प्रधानाध्यापक रेग्मीले बताए । नगरपालिकाबाट भौतिक संरचना निमार्णदेखि लिएर दरबन्दीसम्म विद्यालयमा सहयोग हुँदै आएको बताउँछन् । उनले भने, संस्कृत विद्यालय संचालनका लागि अलग्गै ऐन हुनु पर्दछ ।

उनका अनुसार विद्यार्थीका लागि आवश्यक पाठ्यपुस्तकको रकम नगरपालिकाबाट निकास भए पनि समयमा पुस्तक नपाइने बताए । कक्षा ९/१० को संस्कृत विषयका पुस्तक परिवर्तन भएकाले पुस्तक छापिएका छैनन् । उनले भने, समयमा पाठ्यपुस्तक नछापिँदा विद्यार्थीलाई कठिनाई भएको छ ।

विद्यालयले आवासीयी विद्यार्थीसँग भर्नामा वर्षमा एकपटक भौतिक संरचना तथा खाना वापत केही शुल्क लिने गरेको छ । आवासीय विद्यार्थीका लागि खाने र बस्ने व्यवस्था विवेक आश्रमले गर्ने गरेको छ ।

विद्यार्थी किशन अधिकारीले शिक्षकले सरलरुपमा पढाउने भएकाले बुझ्न सहज भएको बताए । उनका अनुसार कमजोर विद्यार्थीका लागि अतिरिक्त कक्षाको व्यवस्थासमेत गरिएको छ ।

त्यस्तै अर्का विद्यार्थी अविनाश घिमिरे भन्छन्, अरु विद्यालयमा अङ्ग्रेजी र नेपाली माध्यमबाट अध्यापन गराउँदा पुस्तकका ज्ञान मात्र अध्यापन गराइन्छ, संस्कृत विषयमा पढाइने विद्यालयमा पुस्तकसहित व्यवहारिक ज्ञानसमेत सिकाइने गरिएको बताउँछन् ।

पछिल्लो समय संस्कृत भाषाको महत्त्व पनि बढ्दै गएकाले विभिन्न विश्वविद्यालयमा संस्कृत विषयमा अध्यापनसमेत गर्न थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्