Logo

वीर अस्पतालमा साउनभित्रै जलन उपचार कक्ष



काठमाडौँ, १९ असार । वीर अस्पतालको अत्याधुनिक जलन उपचार कक्ष साउन महिनाभित्रै सञ्चालन हुने भएको छ । नर्सिङ जनशक्तिको अभाव देखाउँदै सञ्चालनमा आउन नसकेको जलन उपचार कक्ष लोकसेवा आयोगले वीर अस्पतालकै लागि २९५ जना नर्स छनोट गरेर पठाएसँगै सञ्चालनमा आउने निश्चित भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले वीरमा अत्याधुनिक जलन उपचार कक्ष तत्काल सञ्चालन गर्न लागेको जानकारी दिए । गोरखापत्रसँग कुरा गर्दै स्वास्थ्यमन्त्री बस्नेतले त्यसका लागि दुई करोड ५० लाख रुपियाँको बजेटसमेत व्यवस्था भइसकेको बताए ।

उनले नेपालमा अत्यावश्यक जलन अस्पताल आवश्यक भए पनि तत्काल वीर अस्पतालमा २५ शय्याको जलन उपचार कक्ष निर्माण गरी सञ्चालन गरिने जानकारी दिए । मन्त्री बस्नेतले कम्तीमा वीर अस्पतालमा जलन उपचार कक्ष भएमा गरिब तथा दुःखीले उपचार नपाएर छटपटाउने अवस्था नआउने बताए ।

दैलेखमा काम गर्ने कामदार जलेर उपचार गर्न नपाउँदा आफू जमानी बसेर कीर्तिपुरमा उपचार गराएको स्मरण गर्दै उनले भने, “वीरमा अत्याधुनिक जलन उपचार कक्ष निर्माण भइदिएको भए उनीहरूले सहजै निःशुल्क उपचार पाउन सक्ने ग्यारेन्टी हुने थियो ।”

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्राडा भूपेन्द्रकुमार बस्नेतले वीर अस्पतालमा जलन उपचारका लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । उनले नर्सिङ जनशक्तिको अभाव पूर्ति भएकाले वीरमा अत्याधुनिक जलन उपचार कक्ष साउनबाटै सञ्चालनमा आउने बताए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्