Logo

नक्कली बिल बनाएर भ्रष्टाचार गर्ने १० जनाविरुद्ध मुद्दा



काठमाडौँ, ८ साउन । अख्तियार दुरुपयोग अनुुसन्धान आयोगले नक्कली बिल बनाएर भ्रष्टाचार गरेको आरोपमा ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकाका पूर्वप्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष र प्राविधिकसहित १० जनाविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

आयोगले आर्थिक वर्ष २०७५÷७६ मा सिद्धिचरण नगरपालिका–१० मा विद्युत् पोल, तार र ट्रान्समिटर खरिद आयोजनामा मिलेमतो गरी भ्रष्टाचार गरेको भन्दै उनीहरूविरुद्ध आरोपपत्र दायर गरेको हो ।

पूर्वप्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडा, नेपाल विद्युत् प्राधिकरण ओखलढुङ्गा वितरण केन्द्रका तत्कालीन प्रमुख सञ्जीव साह, वडा १० का अध्यक्ष दामोदर धमला, तत्कालीन इन्जिनियर अमृतकुमार दाहाल र तत्कालीन खानेपानी तथा सरसफाइ प्राविधिक दिलकुमार बुढाथोकी, उपभोक्ता समितिका अध्यक्ष डिककुमार धमला, सचिव दीपकप्रसाद धमला तथा कोषाध्यक्ष गोठीमाया मगर, भण्डार प्रमुख वीरबहादुर राई र नमामी सप्लायर्सका प्रोप्राइटर सञ्जीवकुमार यादवविरुद्ध आरोपपत्र दायर गरिएको छ ।

आयोगका प्रवक्ता भोला दाहालका अनुसार भ्रष्टाचारमा संलग्न १० जनालाई रु चार लाख ७७ हजार आठ सय ९९ रुपैयाँ पैसा साठी बिगो असुलउपर गरी सजायको माग दाबी गरिएको छ ।

वडा १० मा विद्युत् पोल तार र ट्रान्समिटर खरिद योजनामा भ्रष्टाचार गरेको भनी परेको उजुरी निवेदनमाथि आयोगले अनुसन्धान गरेको थियो । अनुसन्धानबाट वडा १० मा विद्युतीकरणको कार्यका लागि तार, पोल ट्रान्सफर्मर खरिद एवं निर्माण आयोजनामा निःशुल्क प्राप्त तथा खरिद नै नगरिएको सामग्रीको उनीहरूले नक्कली बिल बनाएको आयोगले बताएको छ । प्रवक्ता दाहालले भने, “सोही बिल बमोजिमको गलत प्रतिवेदन तयार गरेर भुक्तानी नै गर्न नमिल्ने रकम भुक्तानी गरेको पाइएको हो ।”

प्रतिक्रिया दिनुहोस्