Logo

दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल : पूर्वेली युवा क्लबको शानदार जित



बिर्तामोड,, ३१ बैशाख । कृष्ण शाक्यको व्यक्तिगत पाँच गोलसँगै आयोजक निलो स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

झापा बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको उद्घाटन खेलमा आयोजकले पाहुना टोली हाम्रो इटहरी भेट्रान्स फुटबल क्लबमाथि गोल वर्षा गरेको थियो । इटहरीलाई ९–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै आयोजक पूर्वेली युवा क्लब निलो अन्तिम चारमा प्रवेश गरेको हो ।

खेलको १२ औँ मिनेटमा पूर्वेलीका मित्र बस्नेतले गोल गर्दै टिमलाई अग्रता दिलाए । पाँच मिनेटभित्र आयोजकले लगातार तीन गोल गर्दै खेल ४–० मा पुर्याएको थियो । कृष्ण शाक्यले खेलको २६ औँ, २९ औँ, ४५ औँ, ५१ औँ र ७० औँ मिनेटमा गोल गरेका थिए । त्यस्तै, ३० औँ मिनेटमा मित्र बस्नेतले व्यक्तिगत दोस्रो गोल गरे । त्यस्तै, खेलको ५७ औँ मिनेटमा अंकुर खड्गी र ६५ औँ मिनेटमा सुमन श्रेष्ठले एकएक गोल गरे । प्रतियोगिताको प्लेयर अफ द म्याच ४ गोलकर्ता कृष्ण शाक्य भए । उनले नगद २५०० र ट्रफी पाए ।

यसअघि क्लबका कार्यवहाक अध्यक्ष दिपेन चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड नगरप्रमुख पवित्रा महतारा प्रसाईं र राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले शुभकामना व्यक्त गर्नुभएको थियो। सञ्चारकर्मी केशव भट्टराईले सञ्चालन गरेको कार्यक्रममा क्लबका महासचिव विकास बस्नेतले स्वागत गर्नुभएको थियो।

कोशी प्रदेशका आठवटा टिमको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल जेठ ७ गते हुने प्रतियोगिता संयोजक टेकराज तिलिङले जानकारी दिनुभयो । प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार १११ रुपैयाँ, ट्रफी र मेडल पाउनेछ भने उपविजेताले नगद ५५ हजार ५५५ रुपैयाँ चौधरीले बताउनुभयो ।

त्यस्तै, प्रत्येक खेलको प्लेयर अफ द म्यचाले नगद २५०० र ट्रफी पाउने छन् । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई नगद १० हजार र ट्रफी प्रदान गरिनेछ । प्रतियोगिताका उत्कृष्ट गोलकिप्पर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, उच्च गोलकर्ता र प्रशिक्षकले नगद पाँच हजार र ट्रफी प्राप्त गर्ने संयोजक तिलिङले बताउनुभयो ।

क्लबका अध्यक्ष रविन श्रेष्ठले आफ्नी आमा दुर्गादेवी श्रेष्ठ स्मृतिमा विजेताको नगद पुरस्कार प्रदान गर्नुभएको छ । उपविजेताको पुरस्कार टुबोर्ग बियरले उपलब्ध गराएको हो । १५ वर्षअघि बिर्तामोडका अगुवा युवाहरुको साझा संस्थाको रुपमा स्थापित पूर्वेली युवा क्लब खेलकुदसँगै सामाजिक कार्यमा समेत अग्रसर रहँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्