Logo

मागुरमाडी पर्यटकीय सिमसार पारियो चिटिक्क



मेचीनगर, २२ असोज । मागुरमाडी सामुदायिक वन उपभोक्ता समूह बिट नम्बर १ मेचीनगर-९ द्वारा सञ्चालित मागुरमाडी सिमसार तथा पर्यटकीय क्षेत्रको सरसफाइ गरी चिटिक्क पारिएको छ ।

उपभोक्ताको सक्रियतामा सोमबार सिमसार परिसरमा बढ्दै गएको झाडी सरसफाइ गरिएको हो ।

सिमसार क्षेत्रलाई आकर्षक गन्तव्यको रुपमा विकास गर्न सरसफाइ गरिएको वन समूहका अध्यक्ष अमर लिम्बूले बताए ।

उपभोक्ताले एकैसाथ सिमसार क्षेत्र सफाइ गरेका हुन् । मागुरमाडी सिमसार भौतिक संरचना निर्माणसँगै सञ्चालनमा आइसकेको छ । यद्यपि, बजेट अभावका कारण पूर्णरुपमा संरचनाहरु निर्माण हुन सकेको छैन ।

पाँच हेक्टर जमिनमा फैलिएको उक्त सिमसारमा दुईवटा पोखरी, वाटर फाउन्टेन, बाटोसहितको आकर्षक गार्डेन, फिसिङ डेस्क तथा पिकनिक स्पट निर्माण गरिएको छ ।

अन्य सामुदायिक वन समूहले निर्माण गरेका सिमसार क्षेत्रभन्दा यो अलिक फरक प्रकृतिको रहेको छ । सिमसार क्षेत्रमा कंक्रिट सामग्रीको कम प्रयोग गरिएको र दुबो, चपरी तथा काठका सामग्री बढी प्रयोग गरी निर्माण गरिएको छ ।

मागुरमाडी सिमसार क्षेत्र पर्यटकका लागि लोपोन्मुख किसान जातिको कला, संस्कृति अध्ययनको विषय समेत बन्ने वन समूहकी सचिव कमला गौतमले बताइन् ।

किसान जातिको बसोबास सबैभन्दा बढी मागुरमाडी क्षेत्रमै पर्छ । मुख्य राजमार्गबाट करिब चार किलोमिटर उत्तरमा पर्ने उक्त मागुरमाडी सिमसार बाँसबारी पर्यटकीय क्षेत्रको उत्तरतर्फ पर्दछ ।

प्रतिक्रिया दिनुहोस्