Logo

एकअर्काको अस्तित्व स्वीकार र सम्मानका आधारमा नेपाली समाज चलेको छ: मन्त्री किराती



पाटन, ४ मङ्सिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले एकअर्काको अस्तित्व स्वीकार र सम्मानका आधारमा नेपाली समाज चलेको धारणा व्यक्त गरेका छन् ।

नेपाल संवाद पहल र युनेस्कोसमेत ३४ वटा सङ्घसंस्थाद्वारा आज ललितपुरमा आयोजित ‘नेपाल संवाद महासम्मेलन २०२३’ शुभारम्भ गर्दै उनले एकले अर्काको अस्तित्व स्वीकार नगर्दा, अरुमाथि प्रभुत्व कायम गर्न खोज्दा, स्रोत कब्जा गरेर न्यायोचित वितरण नगर्दा र पर्यावरणको विनाशबाट द्वन्द्व सिर्जना हुने उल्लेख गरेका हुन् ।

“आजको विकास प्रकृति र संस्कृतिमैत्री हुनुपर्छ, प्रकृति र संस्कृतिको विनाश गरेर विकास हुन सक्दैन । विनाश र विकृतिले द्वन्द्व सिर्जना गर्छ, प्रकृतिमाथिको दोहन र चरम लापरबाहीले पनि द्वन्द्व सिर्जना गर्छ, तसर्थ द्वन्द्वको अवस्था आउन नदिन संवादद्वारा शान्ति निर्माण गर्ने अभियानमा हामी अगाडि जान सक्छौँ”, मन्त्री किरातीले भने ।

पूर्वदेखि पश्चिमसम्म हाम्रा बहुधार्मिक तिर्थस्थल छन् भन्दै उनले हाम्रो वैद्धिक परम्परा र भौगोलिक बनावट पनि द्वन्द्व सिर्जना गर्ने खालको नभएको उनले बताए । समाजलाई विज्ञानको सापेक्षताअनुसार विकास गर्न नसक्नु नै हामीले दु:ख पाउनु हो भन्ने धारणा व्यक्त गर्दै मन्त्री किरातीले संवादका माध्यमबाट शान्ति कायम गर्न अन्तर्राष्ट्रिय समुदायको सहयोग, समन्वय तथा सहकार्य आवश्यक भएको उल्लेख गरेका थिए ।

विसं २०६२/२०६३ मा भएको एतिहासिक परिवर्तनको प्रसङ्ग निकाल्दै मन्त्री किरातीले संवादका माध्यमबाट १२ बुँदे सहमति हुँदै शान्ति प्रक्रियामा पुगिएको र जनतासँग संवाद गर्दै संविधानसभाका माध्यमबाट संविधान निर्माण गरिएको चर्चा गरेका थिए ।

उनले अहिले नेपालमा सामाजिक सञ्जालबाट हिंसा भड्काउने माध्यम बन्न थालेको छ भन्दै सामाजिक सद्भाव बिग्रिन लागेकाले केही समयका लागि टिकटक बन्द गरिएको बताए ।

मन्त्री किरातीले भने, “टिकटक बन्द हुँदा केहीका सिर्जनात्मक कुरा म¥र्यो भन्ने कुरा छ, त्यो स्वीकार्छु, त्यसका लागि क्षमा चाहन्छु, तर त्योभन्दा एक हातमा माल र अर्को हातमा भाला लिएर सामाजिक सञ्जालमा अराजकता र गलत सन्देश फैलाउने काम भएको र यसबाट सामाजिक सद्भाव बिग्रिन लागेकाले टिकटक बन्द गरिएकोे हो ।”

प्रतिक्रिया दिनुहोस्