Logo

दूरसञ्चारको विकास डिजिटल नेपालको मेरुदण्ड हो: उपप्रधानमन्त्री खड्का



काठमाडौँ, ८ मङ्सिर । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले दूरसञ्चार क्षेत्रको विकास नै डिजिटल नेपालको मेरुदण्ड भएको बताएका छन् ।

‘नेपालमा दूरसञ्चारको भविष्य र सम्भावना’ विषयक कार्यक्रममा आज उनले दूरसञ्चारको विकासले नेपालमा सहर र गाउँबीचको दूरी घटाएको बताएका हुन् ।

उपप्रधानमन्त्री खड्काले दूरसञ्चार क्षेत्रको विकासका लागि सरकारले नीति तथा कार्यक्रममा नै स्पष्ट व्यवस्था गरेको पनि उल्लेख गरेका हुन् । “दूरसञ्चार क्षेत्रको विकास डिजिटल नेपालको मेरुदण्ड हो । यसर्थ, यस क्षेत्रको विकासका लागि समुचित रणनीति, यथेष्ट पूर्वाधार विकास एवम् आवश्यक जनशक्तिको विकासका लागि लगानी आजको प्राथमिकता हो । यही प्राथमिकतालाई बुझेर नेपाल सरकारले आजका नीति तथा कार्यक्रमहरूमा, योजनाहरूमा दूरसञ्चार तथा अन्य प्राविधिक क्षेत्रको विकासमा विशेष जोड दिँदै आएको छ”, उपप्रधानमन्त्री खड्काले भने ।

उपप्रधानमन्त्री खड्काले नेपालको कठिन एवम् दुर्गम भू-बनोटको अवस्थितिमा अन्य पूर्वाधारहरूको तुलनामा दूरसञ्चार बढी महत्त्वपूर्ण देखिने बताए । उनले दूरसञ्चार क्षेत्रमा द्रुतगतिले भइरहेको आधुनिक प्रविधिको विकास तथा यसको संरचनामा भइरहेको गतिशील परिवर्तनले यस क्षेत्रमा नयाँ अवसरहरू देखापर्दै आएका पनि उल्लेख गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्