Logo

अर्जुनधारामा उत्कृष्ट विद्यार्थी र विद्यालय सम्मानित, शिक्षासेवीलाई पनि कदर



झापा, १२ असार । अर्जुनधारा नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले “नगर उत्कृष्ट विद्यालय तथा विद्यार्थी, स्थानीय पाठ्यक्रम विकास समिति एवं पाठ्यक्रम लेखन विज्ञ सम्मान तथा प्रोत्साहन कार्यक्रम” आयोजना गरी उत्कृष्ट विद्यार्थी, विद्यालय र शिक्षासेवीलाई सम्मान गरेको छ।

कार्यक्रममा शैक्षिक सत्र २०८१/८२ को परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरूलाई नगद पुरस्कारसहित कदरपत्र प्रदान गरिएको थियो। सामुदायिक विद्यालयतर्फ कक्षा ८ का ओम विक्रम न्यौपाने, हृदयेन्द्र किरण नेपाल तथा एसईईका आशुतोष ढुङ्गेल, निश्चल खतिवडा, सम्झना अधिकारी र प्रिया सापकोटा सम्मानित भए। संस्थागत विद्यालयतर्फ कक्षा ८ का सामर्थ्य पोख्रेल सम्मानित भए।

नगरस्तरीय कक्षा ८ मा उत्कृष्ट नतिजा ल्याएको महारानीगञ्ज माध्यमिक विद्यालय र प्रधानाध्यापक मनबहादुर लिम्बू तथा एसईईमा उत्कृष्ट नतिजा ल्याएको लक्ष्मी माध्यमिक विद्यालय र प्रधानाध्यापक निर्मला पोख्रेललाई पनि कदरपत्रसहित सम्मान गरिएको थियो।

यसै अवसरमा स्थानीय पाठ्यक्रम निर्माण तथा विकासमा योगदान पुर्‍याएका बद्रीप्रसाद ओली, सूर्यप्रसाद सापकोटा, तेजस्वी पौडेल, रुद्र खतिवडालगायतलाई सम्मान गरिएको थियो।

नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा सामाजिक विकास समितिका अध्यक्ष कौशिकलाल परियारको अध्यक्षता तथा नगर प्रमुख बलदेवसिंह गोम्देनको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा उपप्रमुख खड्कामाया पराजुली, जनप्रतिनिधि, प्रधानाध्यापक, शिक्षक, पाठ्यक्रम विज्ञ तथा सरोकारवालाको उल्लेखनीय सहभागिता थियो।

शिक्षा अधिकृत हरिबहादुर कवरले नगरपालिकाले शिक्षाको गुणस्तर सुधारका लागि सञ्चालन गरिरहेका कार्यक्रमबारे जानकारी गराउँदै स्थानीय पाठ्यक्रम निर्माणमा योगदान दिने विज्ञहरूको भूमिकाको प्रशंसा गर्नुभयो।

कार्यक्रममा स्थानीय पाठ्यक्रम विकास समितिका संयोजक बद्रीप्रसाद ओली, पाठ्यक्रम लेखन विज्ञ सूर्यप्रसाद सापकोटालगायतले स्थानीय पाठ्यक्रमले विद्यार्थीलाई आफ्नै समाज, संस्कृति र परिवेशसँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरे।

प्रमुख अतिथि नगर प्रमुख बलदेवसिंह गोम्देनले अर्जुनधारामा शिक्षाको गुणस्तर क्रमशः सुधार हुँदै गएको उल्लेख गर्दै गुणस्तरीय शिक्षाका लागि नगरपालिका निरन्तर प्रतिबद्ध रहने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्