Logo

स्रोत सुनिश्चित र वस्तुगत योजना आवश्यक: मन्त्री राई



काठमाडौँ, १७ पुस । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले उपलब्ध हुने स्रोतको सुनिश्चिताका आधारमा वस्तुगत योजना बनाएर मात्र शैक्षिक कार्यक्रमअघि बढाइए तोकिएको समयमा त्यसको नतिजा प्राप्त गर्न सकिने धारणा राखेका छन् ।

प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा उनले मुलुकमा आर्थिक अवस्था कमजोर रहेका बेला न्यूनतम खर्चमा आवश्यक संरचना मात्र निर्माण गर्ने कार्ययोजना अहिलेको आवश्यकता भएको बताएका हुन् ।

जाजरकोट भूकम्प प्रभावित क्षेत्रका विद्यालय सञ्चालनमा देखिएका चुनौती तथा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका सम्बन्धमा उठेका प्रश्न र वास्तविकता जानकारी लिन समितिले आजको बैठकमा मन्त्री राई र सचिवलाई आमन्त्रण गरेको थियो ।

मन्त्री राईले भने, “शिक्षा क्षेत्रसँग सम्बन्धित सही तथ्य तथ्याङ्क प्राप्त गर्न समन्वय र सम्पर्क गर्ने सूचना प्रणालीको विकास गर्दैछ । शिक्षा क्षेत्रमा गर्नुपर्ने काम धेरै छन्, स्रोतसाधन काम छ, लगानी न्यून छ ।” कूल राष्ट्रिय बजेटको २० प्रतिशत शिक्षा क्षेत्रमा विनियोजन हुनुपर्ने अन्तर्राष्ट्रिय प्रतिबद्धता भए पनि चालु आर्थिक वर्षमा ११ दशमलव २७ प्रतिशत विनियोजन भएको छ । राज्यले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी बढाउनुपर्छ भन्ने मन्त्री राईको भनाइ थियो ।

शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारीले विसं २०७२ को भूकम्पपछि कुन ठाउँमा कस्तो संरचना बनाउनुपर्छ भन्ने आधारमा जाजरकोट रुकुम र बाजुरामा ढाँचामा अघि बढाउने भन्ने योजना रहेको जानकारी दिए ।

उनले भने, “त्यसैका आधारमा भूकम्प प्रभावित जिल्लाका विद्यालय निर्माण र पुनःनिर्माणका लागि अहिलेको मूल्यवृद्धिलाई हेर्दा रु छ अर्ब ८४ करोड लाग्ने अनुमान छ ।”

प्रतिक्रिया दिनुहोस्