Logo

सोह्र वर्षदेखि मलेसियामा झापाका विनोद विश्वकर्मा सम्पर्कविहीन



झापा, २३ पुस । वैदेशिक रोजगारीका लागि २० वर्षअघि मलेसिया गएका अर्जुनधारा–११ का विनोद विश्वकर्मा १६ वर्षदेखि सम्पर्कविहीन छन् । उनी २०६० सालमा २२ वर्षका उमेरमा घरको आर्थिक अवस्था कमजोर भएका कारण मलेसिया गएका थिए ।

“२२ वर्षको हुँदा मलेसिया गएको थियो”, विनोदकी ६६ वर्षीया आमा सुकमायाले भनिन्, “अहिले ४२ वर्ष उमेरको भयो । कहाँ छ, के गर्दैछ, केही अत्तोपत्तो छैन ।” उनी मलेसिया गएपछि चार वर्षसम्म परिवारको सम्पर्कमा थिए । विनोदका दुई भाइ र दुई बहिनी छन् । माइला भाइ भीम घरमा आमा–बुबाको हेरचाह गरेर बसेका छन् भने कान्छा भाइ टेकबहादुर विदेश जाने क्रममा छन् । दुईजना बहिनी रुमा र लीलाको बिवाह भइसकेको छ ।

विनोदका ७१ वर्षीय बुबा वीरबहादुर घरमै छन् । “१६ वर्षअघि म बिरामी परेका बेला एकपटक कस्तो छ बुबा भनेर सोधेको थियो, त्यसपछि खबर छैन”, उनले भने । सुकमायाले रु ९० हजार ऋण काढेर विनोदलाई आफ्नै भाइ नरबहादुर र स्थानीयवासी विकास सुब्बा (डोले) मार्फत काठमाडौँको मेनपावरबाट मलेसिया पठाएको बताए । उनले मलेसिया गएपछि विनोदले रु ९० हजार ऋण तिर्ने पैसा र आमाबुबाको उपचारका लागि थप रु २० हजार पठाएको बताए । आमा सुकमाया र बुबा वीरबहादुरले छोरा जहाँ, जस्तो अवस्थामा भए पनि खोजी गरिदिन सबैलाई आग्रह गरेका छन् । स्थानीय हरिचन्द्र राउतले नौ वर्षअघि मलेसियामा विनोदसँग भेट भएको बताए । त्यसबेला विनोदले पेनाङस्थित बल्छी बनाउने कम्पनीमा काम गरिरहेको आफूलाई बताएको हरिचन्द्रले बताए ।

मलेसियामा हरिचन्द्र र विनोदको कोठा नजिकै रहेको थियो । उनीहरुको खाना खाने ठाउँ एउटै थियो । विनोदसँग त्यहीँ भेट भएको हरिचन्द्रले बताए । अवधि पुगेर हरिचन्द्र स्वदेश फर्किए । विनोद कुन मेनपावर कम्पनीमार्फत मलेसिया गएका थियो भन्ने बारेमा उनका बुबा र आमाले बताउन सकेनन् । तर, मेनपावर कम्पनीसम्म पु¥याउने नातेदारले मेनपावरसँग सम्पर्क गराउने आश्वासन दिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्