Logo

दक्षिण अफ्रिकामाथि न्युजिल्यान्डकाे फराकिलो जित



दक्षिण अफ्रिका, २४ माघ । दक्षिण अफ्रिकासँगको पहिलो टेस्ट क्रिकेटमा न्युजिल्यान्ड २ सय ८१ रनको फराकिलो अन्तरले विजयी भएको छ ।

रनको आधारमा टेस्ट क्रिकेटमा न्युजिल्यान्डको यो दोस्रो ठूलो जित हो । यसअघि २०१८ मा क्राइस्टचर्चमा भएको खेलमा न्युजिल्यान्डले श्रीलङ्कालाई ४ सय २३ रनले हराएको थियो ।

न्युजिल्यान्डले दिएको ५ सय २९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका पाँचौँ दिनको चिया समयपछि २ सय ४७ रन बनाउँदा अल आउट भयो । दक्षिण अफ्रिकाका डेभिड बेदिङ्घमले ८७ रन बनाए । न्युजिल्यान्डका केल जेमिनसनले ४ र मिचेल स्यान्टनरले ३ विकेट लिएका थिए ।

न्युजिल्यान्डले दोस्रो इनिङ्समा ४ विकेट गुमाएर १ सय ७९ रन बनाउँदा इनिङ्स सकिएको घोषणा गरेको थियो । न्युजिल्यान्डका केन विलियमसनले शतक बनाए । दक्षिण अफ्रिकाका नेल ब्रान्डले २ विकेट लिएका थिए ।

यसअघि माउन्ट मानगनुईमा टस जितेर ब्याटिङ गरेको न्युजिल्यान्डले पहिलो इनिङ्समा ५ सय ११ रन बनाएको थियो । न्युजिल्यान्डका रचिन रविन्द्रले दोहोरो शतक र केन विलियमसनले शतक बनाए । दक्षिण अफ्रिकाका नेल ब्रान्डले ६ विकेट लिएका थिए ।

दक्षिण अफ्रिका पहिलो इनिङ्समा १ सय ६२ रनमै अल आउट भएको थियो । दक्षिण अफ्रिकाका केगन पिटरसनले ४५ रन बनाए । न्युजिल्यान्डका म्याट हेनरी र मिचेल स्यान्टनरले समान ३ विकेट लिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्