Logo

रसुवा बन्दरगाह निर्माण साठी प्रतिशत सम्पन्न



काठमाडौँ, ८ फागुन । रसुवाको रसुवागढीमा निर्माणाधीन सुक्खा बन्दरगाह (ड्राई पोर्ट) को निर्माण ६० प्रतिशत सम्पन्न भएको छ ।

चीन सरकारको सहयोगमा उत्तरी नाका रसुवागढीमा नेपाल इन्टरमोडल यातायात विकास समितिको व्यवस्थापनमा बन्दरगाह निर्माणको काम भइरहेको छ । दुई देशको आयात निर्यात सहज गर्ने उद्देश्यसहित बन्दरगाह निर्माण गरिएको हो । कोरोना सङ्क्रमणका कारण लामो समयदेखि रोकिएको काम गत वर्षदेखि नियमित रूपमा निर्माण भइरहेको समितिले जनाएको छ ।

बन्दरगाह निर्माणको काम तिब्बत फुली कन्स्ट्रक्सन कम्पनीले गरिरहेको छ । आगामी सन् २०२५ जुलाईसम्म बन्दरगाह निर्माण गरिसक्नुपर्ने सम्झौता भएकाले पनि त्यसअघि नै निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको कम्पनीले जनाएको छ ।

समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बन्दरगाहको निर्माणको काम ६० प्रतिशत सकिएको जानकारी दिए । अहिले बन्दरगाहभित्र भवन निर्माण, रिटनिङ वालमा माटो भर्ने, बाटो निर्माण सम्पन्न भएको उहाँले जानकारी दिए ।

कोभिडका कारणले लामो समयदेखि काम रोकिएकोमा हाल नियमित रूपमा भइरहेकाले तोकिएको समयमै सक्ने अनुमान गरिएको उनले जानकारी दिए । रसुवामा निर्माण हुन लागेको बन्दरगाह निर्माण सम्पन्न भएपछि आयात निर्यातलाई सहज बनाउने उनको भनाइ छ । उनले भने,“नेपाल–चीनबिचको रसुवा नाकामा राम्रो पूर्वाधारसहितको बन्दरगाह तयार भएपछि व्यापार लागत घट्न सघाउ पुग्छ ।”

रसुवा नाका नेपालको नजिक पर्ने हुँदा बन्दरगाह निर्माण भएपछि नियमित रूपमा सामान आउने हुँदा यसले व्यापारी र उपभोक्ता दुवैलाई फाइदा हुने उनको भनाइ छ । बन्दरगाहको लागत दुई अर्ब १६ करोड ६० लाख रुपियाँ रहेको छ । बन्दरगाहभित्र ३१३ साना र २३ वटा ठुला कन्टेनर रहने छन् । बन्दरगाहभित्र इमिग्रेसन, पार्किङको व्यवस्था रहने छ । त्यस्तै कार्गो गोदाम र दुई वटा भवन निर्माण गर्ने योजना छ । समितिका अनुसार बन्दरगाहको एकीकृत भवनमा भन्सार, अध्यागमन, क्वारेन्टाइन कार्यालय, बैङ्क र सुरक्षा निकाय रहने छन् ।

रसुवामा बन्दरगाह निर्माण भएपछि भारतको विसाखापट्नम हुँदै आउने सामान छोटो समयमा रसुवा नाकाबाट आउने हुँदा लागत र समय कम लाग्ने व्यवसायीको भनाइ छ । अहिले चीनको सामान भारत हुँदै नेपाल ल्याउँदा ४५ दिनसम्म समय लाग्ने गरेको व्यवसायी बताउँछन् । रसुवा नाकाबाट सामान आउँदा चिनियाँ सामानको ढुवानी लागत घट्ने हुँदा उपभोक्ताले सस्तो मूल्यमा सामान पाउने व्यवसायीको भनाइ छ । रसुवा नाकाबाट सामान आउँदा १० देखि १२ दिनमा काठमाडौँ आउने व्यवसायीको अनुमान छ ।

चीनमा नेपालको व्यापार १३ प्रतिशत रहेको छ । तातोपानी र हुम्लाको हिल्सा नाकाबाट सामान आयात निर्यात हुने गर्छ । अहिले सबैभन्दा धेरै रसुवा नाकाबाट सामान आउने गरेको छ ।

चिनियाँ पक्षले भूकम्पपछि तातोपानी नाका छाडेर रसुवा नाका केन्द्रित काम गरिरहेको छ । अहिले चीनसँगको व्यापार जोड्ने एक मात्रै नाका रसुवा बनेको छ । चिनियाँ पक्षले रसुवामा अनुदानमै ठुला संरचना निर्माण केन्द्रित गरेको छ । रसुवा सुक्खा बन्दरगाह निर्माण गर्न नेपाल र चीनबिच समझदारी भएको आठ वर्षपछि चिनियाँ पक्षले गत वर्षदेखि निर्माणलाई बल्ल तीव्रता दिएको छ ।

सुक्खा बन्दरगाह दुई हजार ८० वर्गमिटरमा फैलिएको छ । प्रस्तावित डिजाइन अनुसार पाँच सय वर्गमिटर क्षेत्रफलमा प्रशासकीय भवन, ७५० वर्गमिटरमा गोदाम बन्ने छ । उक्त बन्दरगाहमा ३५० वटा कन्टेनर अट्ने छन् । जाँचपास बिन्दु दुई वटा हुने छन् । यसैबिच रसुवा नाकाबाट सबैभन्दा धेरै विद्युतीय सवारीसाधन आयात हुने गरेका छन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्