Logo

सबै जात, धर्म, सम्प्रदाय, भाषाभाषी बीचको समभाव गणतन्त्रको मूल लक्ष्य: राष्ट्रपति



अछाम, १० फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो देश पूर्वीय ज्ञान परम्पराको स्रोत भएकाले यो ज्ञान, परम्परा र सभ्यताभित्र अनेक संस्कृति, सभ्यताको एकता र ऐक्यबद्घता देख्न सकिने बताएका छन् ।

अछाममा वैद्यनाथधाम कोटीहोम महायज्ञसहितको महाकुम्भ मेलाको आज उद्घाटन गर्दै राष्ट्रपति पौडेलले सबै जात, जाति, धर्म, सम्प्रदाय, भाषाभाषीबीचको समभाव र एकता नै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूल लक्ष्य भएको बताएका हुन् ।

“सबै धर्म, संस्कृतिको संरक्षण गर्ने संविधानले निर्दिष्ट गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रले नागरिकको राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक र सांस्कृतिक स्वतन्त्रतासहित निमुखालाई न्याय र विपन्नलाई आयको परिलक्ष्य राखेको छ । अधिकारका विभिन्न किसिम उल्लेख गरेर सबैले अधिकारको स्वतन्त्रता उपयोग गर्ने विषय सङ्घीय लोकतान्त्रिक गणतन्त्रले बोकेको दर्शनभित्रको अन्तर्य हो”, राष्ट्रपति पौडेलले भने ।

उनले कोटीहोम प्रारम्भ भएको आजको यस पवित्र दिनमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रले बोकेको त्यही दर्शनलाई सार्थक रूप दिन सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका थिए ।

“स्वस्थ र सभ्य संस्कृतिको विकास गरी सामाजिक सु-सम्बन्धमा आधारित समाजको निर्माण गर्ने तथा सांस्कृतिक विविधताको सम्मान गर्दै सामाजिक, सद्भाव, ऐक्यबद्धता र सामञ्जस्य कायम गरी राष्ट्रिय एकता सुदृढ गर्ने राज्यको सामाजिक र सांस्कृतिक उद्देश्यलाई साकार रुप दिन आवश्यक छ भन्ने मलाई लाग्दछ”, राष्ट्रपति पौडेलले भने ।

यस क्षेत्रको विकास, संरक्षण र संवर्द्धनका लागि विगतमा वैद्यनाथ क्षेत्र विकास संस्थाको गठन भई सरकार तथा जनसहभागिताबाट मन्दिर पुन:निर्माणलगायत काम हुनु खुसीको कुरा भएको राष्ट्रपति पौडेलको भनाइ थियो । उनले यस क्षेत्रको समग्र विकासका लागि विस्तृत अध्ययन गरी गुरुयोजना तयार गरेर अल्प, मध्य र दीर्घकालीनरूपमा नै पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकता औँल्याएका थिए ।

तीनै तहका सरकारले बजेट, नीति तथा कार्यक्रमभित्र समावेश गरी यस्ता धार्मिक एवं ऐतिहासिक क्षेत्रलाई आकर्षक पर्यटकीय क्षेत्रका रूपमा विकास गरी देश विकासमा योगदान पुर्याउन सकिने राष्ट्रपति पौडेलको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्