Logo

क्रिकेटर लामिछानेले बाहिरै बसेर मुद्दा लड्न पाउने



काठमाडौँ, १० फागुन । बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले थुनाबाहिरै बसेर पुनरावेदन गर्न पाउने भएका छन् ।

काठमाडौँ जिल्ला अदालतको फैसलामाथि पुनरावेदन गर्न बिहीबार उच्च अदालत पाटनले माग बमोजिम लामिछानेलाई थुनाबाहिरै बसेर पुनरावेदनको सुविधा दिइएको हो ।

सन्दीपको माग अनुसार पाटन उच्च अदालतका रजिस्ट्रार मानबहादुर कार्कीबाट भएको आदेशमा थुनाबाहिरै बसेर पुनरावेदन गर्ने सुविधा दिइएको हो । बिहीबार उच्च अदालतमा सन्दीपले पुनरावेदन दर्ता भएसँगै अब तारिखमा बस्न पाउने उच्च अदालत पाटनका प्रवक्ता उपरजिस्ट्रार तीर्थराज भट्टराईले जानकारी दिए । जिल्ला अदालतले तोकेको २० लाख रुपियाँ धरौटी वापतको रकम कटौती हुनेगरी उनले तारिखमा बस्न पाउने भएका हुन् ।

जिल्ला अदालत काठमाडौँबाट लामिछानेलाई २५ पुसमा ५ वर्ष कैद तीन लाख रुपियाँ जरिवाना र १२ हजार रुपियाँ पीडित राहत कोषमा बुझाउनुपर्ने तथा पीडितलाई क्षतिपूर्तिबापत दुई लाख रुपियाँ भराइदिने फैसला भएको थियो । बिहीबार सन्दीप जिल्लाको फैसला पुनरावेदनका लागि लामिछाने उच्च अदालत गएका हुन् ।

अघिल्लो वर्ष भदौ ५ गते सन्दीपले गौशालाको एक होटलमा लगेर बलात्कार गरेको भन्दै सरकारी वकिलले मुद्दा दायर गरेका थिए लामिछानेविरुद्ध किशोरीले जबरजस्ती करणीको आरोपमा २०७९ भदौ २१ मा प्रहरीमा जाहेरी परेको थियो । प्रहरीले भदौ २२ गते मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाएको थियो । भदौ २३ मा काठमाडौँ जिल्ला अदालतले लामिछानेलाई पक्राउ गरेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्