Logo

अर्थतन्त्र शिथिल छ, तर सङ्कटमा छैन: अर्थमन्त्री पुन



काठमाडौँ, ४ चैत । अर्थमन्त्री वर्षमान पुनले मुलुकको अर्थतन्त्र केही शिथिल देखिएको भए पनि सङ्कटको अवस्थामा भने नपुगेको बताएका छन् ।

नागरिक लगानी कोषको ३४औँ वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले अर्थतन्त्र सङ्कट बाहिर रहेको दाबी गरेका हुन् ।

नेपालको बाह्य क्षेत्रमा निकै सुधार देखिएको अर्थमन्त्री पुनको भनाइ छ । यद्यपि सार्वजनिक वित्तको क्षेत्रमा भने केही संरचनागत समस्या अझै बाँकी रहेको उनले स्वीकारेका थिए । मुलुकको अर्थतन्त्र धराशायी भएको भनेर नकारात्मक प्रचार बढी हुँदा बजारमा त्यसको असर देखिएको उनको भनाइ छ ।

“एक वर्षभन्दा बढीको वस्तु तथा सेवा आयात धान्नसक्ने विदेशी मुद्रा सञ्चिति हामीसँग छ । विप्रेषण आप्रवाह राम्रो छ । बैंक वित्तीय संस्थामा पर्याप्त तरलता छ । अब विस्तारै लगानी पनि बढ्छ”, अर्थमन्त्री पुनले भने । बाह्य क्षेत्र र खासगरी भुक्तानी सन्तुलन बिग्रिँदा केही समयअघि नेपालको अर्थतन्त्रलाई श्रीलङ्काको जस्तै धराशायी हुन लागेको भनेर आलोचना भइरहेकामा अहिले बाह्य क्षेत्र निकै मजबुद बनेको उनले बताएका छन् ।

“गत वर्ष सात महिनाका लागि मात्रै आयात धान्ने विदेशी मुद्रा सञ्चिति नहुँदा हामी श्रीलङ्का जस्तै हुन्छौँ भनिएको थियो । सो समयमा पनि सरकारले हामी त्यति खराब अवस्थामा छैनौँ भनेर आस्वस्त पारिरहेको थियो”, अर्थमन्त्री पुनले भने । अर्थतन्त्रका सूचक सकारात्मक भए पनि बजारको मानसिकता अझै सुध्रिन नसकेकामा उनले चिन्ता व्यक्त गरेका थिए ।

सकारात्मक सोच र आत्मविश्वास हुने हो भने लगानी बढ्ने र त्यसले अर्थतन्त्र वृद्धिमा सहयोग पु¥याउने अर्थमन्त्री पुनको भनाइ छ । सरकारले यसअघि अवलम्बन गरेका र पूर्वअर्थमन्त्रीले ल्याएका सकारात्मक नीति तथा योजनालाई आफूले पनि निरन्तरता दिने उनले विश्वास दिलाएका थिए ।

विगतमा अर्थतन्त्रमा देखिएका सङ्कुचनका कारण लिइएका कडा नीतिलाई बिस्तारै खुकुलो बनाउँदै लगिने धारणा अर्थमन्त्री पुनले राखेका थिए । यसबारे विषयगत मन्त्रालय र विभिन्न निकायसँग छलफल भइरहेको उनले जानकारी दिए । पछिल्लो समय धितोपत्र बजारमा सुधारका सङ्केत देखिएको भन्दै यसले बजार चलायमान गर्न सहयोग पु¥याउने उनको भनाइ छ ।

सेवा प्रवाहमा सहजताका लागि सबै पक्ष र निकाय जवाफदेही हुनुपर्नेमा मन्त्री पुनले जोड दिए । “राजनीतिक नेतृत्वका समस्या छन् । राजनीतिक शुद्धीकरण जरुरी छ भनेर हामी आफैँले पनि ठानेका छौँ । हाम्रा सार्वजनिक निकायमा प्रशासनिक सुधारको आवश्यकता छ”, पुनले भने ।

नागरिक लगानी कोषलाई थप व्यावसायिक बनाउन र कोषमा जम्मा भएको रकमलाई उत्पादनमूलक क्षेत्र, ठूला पूर्वाधार निर्माण र रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्न पनि मन्त्री पुनले निर्देशन दिए । कोषको रकम उत्पादन, उत्पादकत्व र रोजगारीको अवसर सिर्जना गर्ने क्षेत्रमा परिचालन गरी राष्ट्रिय पुँजी निर्माणका लागि काम गर्न सक्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्