Logo

कांग्रेसले गृहमन्त्रीलाई बदनाम गर्न खोज्यो: अध्यक्ष ओली



काठमाडौँ, ६ चैत । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई नेपाली कांग्रेसले बदनाम गर्न खोजेको आरोप लगाएका छन् ।

मङ्गलबार प्रेस चौतारी कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले लामिछाने र उहाँको पार्टी कांग्रेसतिर नलागेका कारण उहाँलाई बदनाम गराउने र फसाउने खेलमा नेताहरू लागेको दाबी गरेका हुन् ।

उनले भने, ‘‘सहकारीसँग कुनै सम्बन्ध नै नभएका लामिछानेलाई जबरजस्ती बदनाम गराउन खोजिएको छ के उनी सहकारीमा छन्? सहकारी डुबाउने कुरामा उनी सहकारीका सञ्चालक हुन्? के सहकारीमा उहाँको संलग्नता र सदस्यता छ? केही पनि छैन भने छानबिनमा कसरी प्रभाव पर्छ ।’’

‘‘बरु नेपाली कांग्रेसतिर रवि लामिछाने र उनको पार्टी लागेन त्यसैले उहाँलाई बदनाम गर्ने, फसाउने काम गरिएको छ ।,’’ अध्यक्ष ओलीले भने, ‘‘सरकारबाट हट्नु परेको पीडाको छटपटीमा छाती पिटेर रुँदैमा त्यसलाई महत्त्व दिन आवश्यक छैन ।’’

लामिछानेको सहकारीसँग कुनै सम्बन्ध नभएका कारण छानबिनमा कुनै प्रभाव नपार्ने दाबी गर्दै उनले पीडित न्याय पाउने बताए । अर्कातिर कुनै मन्त्री वा सांसदको बारेमा उजुरी पर्दैमा पद नरहने भए मन्त्री र सांसद सबै खाली हुने पनि अध्यक्ष ओलीले गरेका थिए ।

तत्कालीन समयमा नेपाली कांग्रेसका तर्फबाट भएका मन्त्रीले गम्भीर खालका मुद्दा लाग्दा समेत झण्डा हल्लाएर अख्तियारमा बयान दिन गएर छानबिन र अनुसन्धान प्रभावित गर्न खोजेको दाबी ओलीले गरेका छन् ।

उनले आफू सरकारमा भएका बेला तत्कालीन श्रममन्त्री शेरबहादुर तामाङ र सञ्चार मन्त्री गोकुल बास्कोटाको बोली चिप्लिएपछि राजीनामा गराएको स्मरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्