Logo

कक्षा ४ र ६ को प्रश्नपत्र एउटै !



मोरङ, १० चैत्र । मोरङको पथरी शनिश्चरे नगरपालिकामा कक्षा ६ को परीक्षा रद्द भएको छ । सामुदायिक विद्यालय समितिले गर्दै आएको परीक्षामा कक्षा ४ र ६ को प्रश्नपत्र एउटै भएकाले परीक्षा रद्द भएको हो । नगरभित्रका २८ सामुदायिक विद्यालयले सामूहिक परीक्षा गराउँदै आएका थिए ।

बिहीबार हुने भनिएको स्वास्थ्य शारीरिक तथा सिर्जनात्मक कला विषय कक्षा ६ को प्रश्नपत्र कक्षा ४ को रहेको थियो । बिहान कक्षा ४ को परीक्षा भएको र सोही प्रश्नपत्र कक्षा ६ मा पनि दोहोरिएको विद्यार्थीको भनाइ छ । परीक्षा दिन बसेका विद्यार्थीलाई प्रश्नपत्र बाँढेपछि विषयसूची भन्दा बाहिरको भएपछि प्रश्नपत्र खोसिएको विद्यार्थीको भनाइ छ ।

रद्द भएको परीक्षा १० गते शनिबार हुने नगर शिक्षा शाखा अधिकृत नवीन खुलाल बुढाथोकीले बताए । बुढाथोकीले कक्षा ५ र ८ को परीक्षा नगरले गरे पनि अन्य कक्षाको परीक्षा समितिले गरेको बताए । प्रश्नपत्र त्रुटि भएको विषयमा समितिलाई राय पेस गर्न भनेका छौँ बुढाथोकीले बताए । यता तयार भएको प्रश्नपत्र प्रिन्टमा प्राविधिक त्रुटि भएको समितिका सदस्य नरेन्द्र घिसिङले बताए ।

प्रतिक्रिया दिनुहोस्