Logo

समृद्धि र विकासका लागि जस्तोसुकै त्याग गर्न तयार छौँ: महासचिव पोखरेल



कास्की, १० चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकको समृद्धि र विकासका लागि एमाले जस्तोसुकै त्याग गर्न पनि तयार रहेको बताएका छन् ।

एमाले कास्कीको ११औँ जिल्ला अधिवेशनको आज पोखरामा उद्घाटन गर्दै उनले भने, “माओवादी केन्द्रलगायतसँगको नयाँ समीकरण र सहकार्य देशको समृद्धि र विकासका लागि हो । हामी जनतालाई राज्यसँग जोड्दै अगाडि बढ्छौँ ।”

कमजोर राज्य व्यवस्थाले जनतालाई आशा जगाउन नसक्ने भएकाले जनतामा आशा जगाउन एमाले त्यसतर्फ अघि बढेको उनको भनाइ थियो । नेपालमा लामो समयदेखि कायम राजनीतिक अस्थिरता हटाउँदै जनताको बहुदलीय जनवादलाई अगालेर अगाडि बढ्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरेका थिए । केही हप्ताअघि माओवादी केन्द्रसँग भएको समीकरण देशलाई अग्रगमनतर्फ लैजाने उद्देश्यले भएको दाबी उनको छ ।

नेपाली युवाले विदेशबाट पठाएको रेमिट्यान्स घरायसी खर्च नगरी बचत गर्ने प्रवृत्तिको विकास गर्न जरुरी भएको उनले बताए । नेपाली युवाले विदेशबाट पठाएको पैसा घरखर्चमा प्रयोग हुँदा पुँजी निर्माण हुन नसकेकोप्रति पनि उनले चिन्ता व्यक्त गरेका थिए ।

शिक्षा पद्धतिमा परिवर्तन ल्याएर नेपालको शैक्षिक जनशक्तिलाई नेपालमा नै रोक्ने कार्यको थालनी गर्न जरुरी रहेको बताउँदै उनले यसका लागि सरकारले योजना ल्याउने उल्लेख गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्