Logo

अहिलेको संवैधानिक राजनीतिक प्रणाली समाजवादका लागि बाधक: अध्यक्ष यादव



काठमाडौँ, २० चैत । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष समेत रहेका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले अहिलेको संवैधानिक राजनीतिक प्रणाली समाजवादका लागि बाधक रहेको बताएका छन् ।

मंगलबार समाजवादी मोर्चाले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा उनले व्यवस्थामा आमुल परिवर्तन नगरी समाजवाद स्थापना नहुने बताएका हुन् ।

“समाजवादको निर्माण गर्ने क्रममा अहिलेको संवैधानिक र राजनीतिक व्यवस्थाबाट जुन अभ्यास हामीले गर्दैछौँ । यो वास्तवमा लिभरल डेमोक्रेसी हो । उदारवादी व्यवस्था हो पुँजीवादी जस्तै गरी अगाडि बढिरहेको छ,” उनले भने, “अहिलेको संविधानको अभ्यासबाट लिभरल डेमोक्रेसी त अलिक अगाडि बढ्ला । तर, समाजवादको स्थापना हुन सक्दैन । अहिलेको संवैधानिक राजनीतिक प्रणालीमा नै ड्रास्टिक चेन्ज नगरीकन समाजवाद होइन । विकृत पुजीवादतर्फ जान्छौँ ।”

उनले रूस वा चीन कुनको समाजवाद नक्कल गर्ने भन्दा भन्दै नेताहरूको उमेर नै बितिसकेको बताए । नेपाली सामाजिक विशेषतामा आधारित रहेर समाजवादको निर्माण गर्नुपर्ने बताएका छन् । तर, पूर्वतर्फ जानुपर्नेमा पश्चिमतिर हिँडिरहेको उनको भनाइ छ ।

त्यस्तै, यादवले संघीयतालाई सबलांग बनाउन संविधान संशोधन गर्नुपर्ने बताए । “अहिलेको नेपालको संघीयता भनेको संघीयता जस्तो भएको तर, कुरुप अपांगै भएको,” उनले भने, “यस्तो अवस्थाको संघीयतालाई सपांग र दुरुस्त बनाउन अहिलेको संविधान संशोधन र परिवर्तन नगरी हुँदैन ।”

प्रतिक्रिया दिनुहोस्