Logo

सङ्घीय गणतन्त्रलाई जोगाउन निष्ठापूर्वक लागिरहन्छु: राष्ट्रपति



तनहुँ, २३ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्र र वर्तमान संविधान जोगाउन आफू निष्ठापूर्वक लागिरहने बताएका छन् ।

जनज्योति क्याम्पस भिमाद तनहुँको १६ औं वार्षिकोत्सव तथा नवनिर्मित भवनको उदघाटन गर्दै राष्ट्रपति पौडेलले सो कुरा बताएका हुन् ।

राष्ट्रपति पौडेलले भने, ‘राजनीतिक अस्थिरताको शृङ्खलाले यो देश र व्यवस्थालाई अप्ठ्यारो नहोस् भन्ने मेरो चिन्ता हो, मैले प्रधानमन्त्रीलाई पनि यही भनेको छु ।’ तपाईंहरूको राजनीतिमा आफ्नो भन्नु केही नरहेको तर राजनीतिक अस्थिरताले देश र व्यवस्थालाई अप्ठ्यारो नहोस् भन्ने मेरो चिन्ता भएको पौडेलले बताए ।

‘प्रधानमन्त्रीले तपाईं र म रहेसम्म केही हुँदैन भन्नुभएको छ’ उनले भने, “तपाईंहरुले मलाई यो देश र व्यवस्था बचाउने जिम्मा दिनुभएको छ, यो संविधान, देश र संघीय लोकतान्त्रिक गणतन्त्र बचाउन म रहेसम्म निष्ठापूर्वक लागिरहने तपाईंहरुसँग कवुल गर्दछु ।”

उनले तनहुँलाई विशिष्ट जिल्ला बनाउन आफूसँग दुईवटा दृष्टिकोण र कार्यक्रम रहेको चर्चा गरेका थिए । जिपी कोइराला श्वास प्रश्वास केन्द्रलाई शिक्षण अस्पताल बनाउने र संसारमा कुनै पनि नेपालीले एक पटक नआइ नहुने भानु साहित्य उद्यानले तनहुँलाई विशिष्ट जिल्ला बनाएको उनको भनाइ छ । उनले विकासको कुरा रोकेर कानुनको कुरा गर्न नहुनेतर्फ न्यायक्षेत्रको ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्