Logo

सुनसरीको भुटाहा तनावग्रस्त: ५१ राउण्ड हवाई फायर



कास्की, २३ चैत । शुक्रबार बिहानबाट अशान्त बनेको सुनसरीको भुटाहा बजार तनावग्रस्त बनेको छ ।

हिन्दु र मुस्लिम समुदाय दोहोरा भिडन्तमा उत्रिएपछि अवस्था नियन्त्रण बाहिर गएको हो ।

दिउँसो १ बजेपछि सुरु तनाव दोहोरो झडपमा परिणत भएको छ । तनावग्रस्त क्षेत्रमा बाक्लो सुरक्षा तैनाथ भए पनि दुई पक्षको हुलका कारण सुरक्षाकर्मी पछि हट्नुपर्ने अवस्थाको सृजना भएको छ ।

प्रदर्शनकारीले गाउँपालिकाको कार्यालय, इलाका प्रशासन कार्यालय र प्रहरी पोष्टमा क्षति पुर्‍याएका छन् । सुनसरी प्रहरीले दिएको जानकारी अनुसार अहिलेसम्म ५१ राउण्ड बढी हवाई फायर भइसकेको छ । दुई जनालाई गोली लागेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

अश्रुग्यास र हवाई फायर के कति भएको भन्ने विषय यकिन भइ नसकेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । कामु प्रमुख जिल्ला अधिकारी वेदराज फुयलले निषेधाज्ञाका बाबजुत भिड नियन्त्रणमा आउन नसकेको बताए । उनले अवस्था नियन्त्रणमा लिन हरसम्भव प्रयास भइरहेको बताएका छन् ।

जारी तनाव र प्रदर्शन दक्षिणी भेग हुँदै आसपासका शहर बजारमा समेत बढ्दै गएको छ । दुई समुदायका प्रदर्शनकारी आपसमा भिडेपछि भुटाहा बजार सँगै गौतमपुर, देवानगञ्ज लगायत दक्षिणी भेगका अधिकांश क्षेत्र तनावग्रस्त बनेको छ । सुनसरी प्रशासनले हरिनगर गाउँपालिकाका सबै वडा र देवानगञ्जको १ र २ नम्बर वडालाई लक्षित गरी निषधाज्ञा जारी गरेको छ । आवश्यकता अनुसार दायरा बढाउने वा थप कडाईको आदेश गर्न सक्ने जनाएको छ ।

भुटाहामा अघिल्लो दिन हिन्दु युवामाथि मुस्लिम युवा समूहले कुटपिट गरेका थियो । घाइते जीवन मेहता धरानमा उपचाररत हुन । उनको अवस्था सुधारोन्मुख रहेको बताइएको छ । उक्त कुटपिट घटना विषयलाई लिएर स्थानीय हिन्दु समूहले उक्त घटनाको विरोधमा आज बिहानैबाट प्रदर्शन चर्काएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्