Logo

एकै दिन थपिए २३ चार्जिङ स्टेसन



काठमाडौँ, २८ चैत । बागमती प्रदेशमा २३ नयाँ चार्जिङ सञ्चालनमा ल्याइएको छ । युएस एआइडीको ऊर्जा नेपालको अनुदानसहित निजी क्षेत्रको लगानीमा तयार यी स्टेसन मङ्गलबार एकैपटक सञ्चालनमा ल्याइएका हुन् । यससँगै एउटा मोबाइल इभी चार्जिङ स्टेसन पनि उद्घाटन गरिएको छ ।

ऊर्जा नेपालको तीन लाख ४६ हजार अमेरिकी डलर अनुदान र निजी कम्पनीको एक लाख ८५ हजार अमेरिकी डलर लगानीमा यी फास्ट चार्जिङ स्टेसन सञ्चालनमा ल्याइएको हो । २३ मध्ये १७ चार्जिङ स्टेसन यात्री डिजाइन स्टुडियोले र छ वटा इ–स्टप नेपालले स्थापना गरेका हुन् । यात्रीले परीक्षण र प्रचार प्रसार प्रयोजनका लागि एउटा मोबाइल चार्जिङ स्टेसन पनि निर्माण गरेको हो । पृथ्वी राजमार्ग, अरनिको राजमार्ग र काठमाडौँ उपत्यकालाई लक्षित गर्दै यी स्टेसन निर्माण गरिएका हुन् ।

नेपाल सरकारले तय गरेको शून्य कार्बन उत्सर्जनको अन्तिम लक्ष्य र त्यसअघिका आवधिक लक्ष्य परिपूरण गर्ने उद्देश्यले विद्युतीय सवारीको सहजता र सर्वसुलभता कायम गर्न यस्तो सहायता गरिएको युएस एआइडीका निमित्त मिसन निर्देशक कारिन वेल्चले जानकारी दिनुभयो । “निजी क्षेत्रलाई समेत प्रवर्धन गर्ने गरी हामीले गरेको यो सहायता परिचालन नेपालको ऊर्जा क्षेत्रको रूपान्तरणका लागि सहायकसिद्ध हुने छ,” उहाँले भन्नुभयो, “सरकार र अन्य साझेदारसँग यस्ता कार्यमा सहकार्य बढाउन हामी अझै तत्पर छौँ ।” सरकारले सन् २०३० सम्ममा निजी सवारी बिक्रीको ९० प्रतिशत र सार्वजनिक सवारीको ६० प्रतिशत बिक्री विद्युतीय सवारी पु¥याउने लक्ष्य लिएको छ ।

चार्जिङ स्टेसन उद्घाटन कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय सवारी प्रवर्धनका लागि चार्जिङ पूर्वाधार सुविधा विस्तारले यस्ता सवारी प्रयोगमा अझै व्यापकता आउने अपेक्षा गर्नुभयो । प्राधिकरणले आफैँ ५१ वटा सार्वजनिक चार्जिङ स्टेसन निर्माण गरेर यो काम आरम्भ गरेको थियो,” उहाँले भन्नुभयो, “अहिले दातृनिकायको अनुदान सहयोगमा २३ वटा स्टेसन सञ्चालनमा आउँदा स्वच्छ ऊर्जा प्रवर्धनमा नयाँ सन्देश प्रवाह गर्ने छ ।”

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सन्दीपकुमार देवले चार्जिङ स्टेसनको व्यावसायिक सञ्चालनमा निजी क्षेत्रले थालेको पहलले स्वच्छ ऊर्जा प्रवर्धनमा उल्लेख्य योगदान पु¥याउने बताउनुभयो । ऊर्जा नेपालले विद्युतीय सवारी प्रवर्धनका लागि निजी क्षेत्रका नयाँ सोच र क्षमता सदुपयोग गर्ने गरी यस्तो सहायता कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । यात्री र इ–स्टपले आफ्नो अन्य व्यावसायिक सोच बहुआयामिक बनाउन र व्यवसाय र सेवालाई गुणस्तरीय बनाउन चार्जिङ स्टेसन व्यवसायमा प्रवेश गरेको जनाएका छन् ।

साझाले पनि चलायो चार्जिङ स्टेसन
मङ्गलबारै साझा यातायातले पनि ठुला बस चार्ज गर्न मिल्ने देशकै ठुलो चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ । उपत्यकाभित्र ४० विद्युतीय बस सञ्चालन गर्ने योजना अनुसार साझा यातायातले एकैपटक २४ वटा ठुला बस चार्ज गर्न मिल्ने गरी साझा यातायात परिसर पुल्चोकमा चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको हो ।

चार्जिङ स्टेसनको भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले उद्घाटन गर्नुभयो । साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितका अनुसार सरकारले उपलब्ध गराएको तीन अर्ब रुपियाँ अन्तर्गतै यी चार्जिङ स्टेसन सञ्चालनमा ल्याइएको हो । साझा परिसरमा भएका चार्जिङ स्टेसनमा १।१ मेगावाट विद्युत् खपत हुन्छ । साझा यातायातले थप चार्जिङ स्टेसन विस्तार गर्न काठमाडौँ उपत्यकाका १८ पालिकासँग सहकार्य गर्न चाहेको जनाइएको छ ।

साझाले हाल नौ मिटर लामो ५० यात्रु क्षमताका ७१ डिजल र ४० विद्युतीय गरी १११ बस सञ्चालन गरिरहेको छ । निकट भविष्यमै १२ मिटर लामो बस ल्याउने उपत्यकाबाहिरको सेवा विस्तार गर्ने लक्ष्य राखेको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्