Logo

सुहाङलाई जिताउन अध्यक्ष ओलीको अपिल



इलाम, ५ वैशाख: नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले इलाम क्षेत्र नं २ मा एमालेले उम्मेदवार बनाएका युवा सुहाङ नेम्वाङलाई जिताउन यहाँका मतदाताहरुलाई अपिल गर्नुभएको छ ।

इलाम क्षेत्र नं २ को देउमाई नगरपालिकास्थित मङ्गलबारे बजारमा आज आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले सो अपिल गर्नुभएको हो ।

नेकपा ९एमाले०का यस क्षेत्रका सांसद सुवासचन्द्र नेम्वाङको गएको भदौ २६ गते मृत्यु भएपछि इलाम क्षेत्र नं २ मा उपनिर्वाचन हुन लागेको हो । स्वर्गीय नेता सुवासचन्द्र नेम्वाङको सपना पूरा गर्न पनि उहाँका छोरा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाइएको भन्दै अध्यक्ष ओलीले सुहाङलाई मतदान गर्न आग्रह गर्नुभयो ।

इलाम क्षेत्र नं २ को विकास र यहाँका नागरिकको समृद्धिका लागि सुहाङ नेम्वाङ विजयी हुनुपर्ने उहाँको भनाइ थियो ।

नेकपा (एमाले)ले घरघरमा वृद्ध भत्ता पु¥याएको, सामाजिक सुरक्षा भत्ता वितरण गरेको र सडक निर्माणलगायत धेरै काम गरेको पनि उहाँले बताउनुभयो ।

अध्यक्ष ओलीले एमालेले मुलुकमा कस्तो विकास गर्छ भन्ने कुरा आफू प्रधानमन्त्री हुँदा देखाएको बताउनुभयो । उहाँले भन्नुभयो, “म प्रधानमन्त्री हुँदा दुई सय १० पालिकादेखि सदरमुकाम जोड्ने सडक र तीन सय ९६ वटा पालिकामा अस्पताल बनाउन शिलान्यास गरेको थिएँ तर सरकारबाट बाहिरिएपछि ती सबै अलपत्र परेका छन् । अब अधुरा र अलपत्र कामहरुलाई आउँदो निर्वाचनसम्ममा पूरा गर्नुपर्छ ।”

एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले एकल जातीय पहिचानको कुराले जातीय सद्भावलाई खल्बल्याउने धारणा राख्नुभयो ।

नेकपा (माओवादी केन्द्र) को कोशी प्रदेशका अध्यक्ष हर्क नेम्वाङले कम्युनिष्टहरुलाई एक ठाउँमा ल्याउने ‘एजेन्डा’ पूरा गर्नका लागि पनि वामपन्थीहरुका साझा उम्मेदवार सुहाङलाई विजयी गराउनुपर्ने बताउनुभयो ।

सो सभामा उम्मेदवार नेम्वाङले आफूले जितेको खण्डमा इलाम क्षेत्र नं २ को विकास गर्ने र यहाँका नागरिकले शिर झुकाउनुपर्ने कुनै काम नगर्ने बताउनुभयो । उहाँले यही वैशाख १५ गते हुने निर्वाचनमा आफूलाई मतदान गर्न अपिल पनि गर्नुभयो ।

यस क्षेत्रमा १२ राजनीतिक दल र सात स्वतन्त्र गरी १९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । एमालेका सुहाङसँगै नेपाली कांग्रेसका इलाम सभापति डम्बरबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बू र पहिचानवादीका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू (थेगिम) रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्