Logo

समाजवाद आधार निर्माणको ऐतिहासिक अभियानमा सहभागी हुन प्रधानमन्त्री प्रचण्डको अपील



काठमाडौँ, १० वैशाख । प्रधानमन्त्री एवं नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादको आधार निर्माणको ऐतिहासिक अभियानमा सहभागी हुन अपील गर्नुभएको छ ।

नेपाल कम्युनिस्ट पार्टीको ७५औं स्थापना दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री प्रचण्डले देशका सम्पूर्ण कम्युनिस्ट क्रान्तिकारी र वामपन्थी प्रगतिशील शक्तिबीच एकता र ध्रुवीकरणको अभियानमा लामवद्ध हुन आग्रह गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले नेपालको कम्युनिस्ट आन्दोलनले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्दै समाजवादको दिशा परिलक्षित गरेको वताउनुभयो । ‘यसले जनवादी क्रान्तिको मूलभूत कार्यभार नेपाली विशिष्टता र मौलिकतासहित पूरा गर्दै समाजवादी क्रान्तिको आधारविन्दु निर्माण गरेको छ ‘, उहाले भन्नुभएको छ ।

नेपालमा २००६ वैशाख १० गते १९४९ अप्रिल २२ का दिन श्रेष्ठको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थापना भएको थियो ।

प्रधानमन्त्री प्रचण्डले विचारधारात्मक संघर्ष एवं एकता र विभाजनका अनेकौँ अनुभवले एकातर्फ समाजवादको लक्ष्य प्राप्तिमा मार्गनिर्देश गरिरहेको र अर्कातर्फ सत्ता समीकरण, सहकार्य र सहयात्रा हुँदै एउटै कम्युनिस्ट केन्द्रको साझा सपना र संकल्पलाई सार्थक तुल्याउने बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले कम्युनिस्ट एवं वामपन्थी शक्तिहरूको साझा संकल्प, सहकार्य र एकताको आधारमा मात्रै देशका चुनौतीलाई सम्बोधन गर्न सकिने निष्कर्षका साथ सत्ता सहयात्रा सुरु गरिएको बताउँदै भन्नुभएको छ , ‘सत्ता सहयात्रालाई विभिन्न चुनौतीहरूबाट जोगाउँदै निर्धारित लक्ष्यसम्म पुर्‍याउनु हामी सबैको साझा जिम्मेवारी हो ।’

प्रतिक्रिया दिनुहोस्