Logo

हाइड्रोपावर र लघुवित्तमा लगानीकर्ताको आकर्षण बढ्दा, नेप्से सूचक २८ अंकले बढ्यो



काठमाडौँ, १ जेठ । मंगलबार हाइड्रोपावर र लघुवित्त कम्पनीहरुमा लगानीकर्ताको आकर्षण बढ्दा नेप्से सूचक करिब साढे १ प्रतिशतले बढेको छ। यस दिन नेप्से सूचक २८.६२ अंकले बढेर २०२७.५१ विन्दुमा पुगेको छ।

नेप्से सूचक बढेर २००० विन्दु माथि पुगेपछि कारोबार रकम पनि बढेको छ। सोमबार करिब साढे ३ अर्ब रुपैयाँको शेयर कारोबार भएकोमा मंगलबार ४ अर्ब बढीको शेयर कारोबार भएको छ। यस दिन ४ अर्ब ८ करोड ८५ लाख रुपैयाँ बराबरको ९८ लाख ५५ हजार २८५ कित्ता शेयर कारोबार भएको छ।

मंगलबार कारोबारमा आएका १३ वटै उपसमूहको सूचक सकारात्मक देखिएका छन् जसमा माइक्रोफाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै ३.४४ प्रतिशतले बढेको छ भने हाइड्रोपावर उपसमूहको सूचक पनि ३.२२ प्रतिशतले बढेको छ।

यस दिन समाज लघुवित्त, उपकार लघुवित्त र यसनिक लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने जनउत्थान सामुदायिक लघुवित्तको पनि ९.९९ प्रतिशतले बढेको छ।

यता हिमालयन उर्जा विकास कम्पनीको शेयरमूल्य सबैभन्दा धेरै ४।६४ प्रतिशतले घटेको छ भने सप्तकोशी डेभलपमेन्ट बैंकको १.४६ प्रतिशत र ग्रिन डेभलपमेन्ट बैंकको १.३६ प्रतिशतले घटेको छ।

यस दिन सिइडीबी हाइड्रोपावरको १५ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने साइन रेशुंगा डेभलपमेन्ट बैंकको ११ करोड र आरएसडीसी लघुवित्तको ७ करोड ९५ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस्