Logo

स्थानीयको मुहार फेर्दै लेमलेमा खोला



दिलबहादुर राई,
धनकुटा, १४ भदौ । धनकुटाको खाल्सा छिन्ताङ सहिदभूमी गाउँपालिका वडा नं. १ सफाइटारका स्थानीयवासीलाई लेमलेमा खोलाको पानीले व्यवसायिक बनाउँदै लगेको छ । सफाइटारबाट पारी साँगुरीगढी गाउँपालिकाको आहाले स्थित लेमलेमा खोलाबाट ल्याइएको पानीबाट सिँचाइहुन थालेपछि यहाँका स्थानीयवासीले तरकारी र खाद्यवालीको व्यवसायिक रुपमा उत्पादन गर्न थालेका छन् । कुनै बेला तरकारी र खाद्यान्न ल्याउन मुलघाट र चतराबजार पुग्ने सफाईटारबासी अहिले तरकारी बिक्रिकालागि त्यँहा पुग्ने गरेका छन् । लेमलेमा खोलाको पानीलाई करिव ४ सय मिटर पक्की कुलोबाट झोलुङ्गे पुलभन्दा तीन सय मिटर माथि इन्टेक ट्याङ्कीमा ल्याई सोपानीले सफाईटारमा सिंचाई हुन थालेपछि सफाईटार बस्तीको रुपरङ्ग फेरिएको स्थानीयबासीहरु बताउछन् ।

ईन्टेक ट्याङ्कीमा रहेको पानीलाई फलामे पाइपबाट ठाडो तमोर नदीको झोलुङे पुलहुँदै करिब सात सय मिटर सफाइटार भन्दा केहीमाथि रहेको इन्टेक ट्याङकीमा खसाइएको छ । सो ट्याङ्कीबाट तीनओटा ब्लकमार्फत पानी वितरण गरिएको छ । यस योजनाबाट करिब ५० हेक्टर जमिन सिञ्चित हुँदै आएको छ । स्थानीय वासिन्दाले कुलोबाट ल्याएको पानी पालैपालो व्यवस्थित तरिकाले सदुपयोग गरीरहेका छन् । ‘‘पहिले खेती लगाउन आकाश हेर्नु पथ्र्यो’’,स्थानीय कुलबहादुर खड्काले भने–‘‘सिँचाई सुविधा आएपछि खेती गर्न सहज भएको छ ,कृषि उत्पादनमा वृद्धि आएको छ ।’’

खड्का अनुसार खेर गइरहेको पानीलाई सिँचाई गर्न सकिन्छ भनेर स्थानीयले २०५३ सालमा सरकारसँग सिँचाइ योजनाको माग गरेका थिए । तर खोला तमोर नदीभन्दा पारी रहेको कारण पानी ल्याउन झोलुंगे पुलको आवश्यकता भएकाले लामो प्रयास पछि मात्र सिंचाई आयोजना ल्याउन सफल भएको हो । आयोजना सञ्चालन भएपछि अहिले खड्काजस्ता ५२ घरपरिवारको खेतीयोग्य फाँट वाह्रैमास हरियाली देखिन्छ ।

२०७१ सालमा तत्कालीन् जिल्ला विकास समितिको कार्यालय धनकुटाले झोलुंगे पुल क्षेत्र कार्यक्रम अन्र्तगत ३३ लाख रुपैयाको लगातमा जिर्ण झोलुंगे पुललाई पुर्ननिर्माण गरेपछि सिँचाई आयोजना सञ्चालनमा आएको हो । सोहीवर्ष सिँचाइ विकास डिभिजन कार्यालय धनकुटाको १० लाख ५० हजार रुपैयाको लागतमा उक्त सिँचाइ आयोजनाको पुनमर्मत गरियो । सफाइटार सिँचाइ आयोजना पहाडी जिल्लाको लागि नमुना सिँचाइ आयोजना भएको डिभिजन सिँचाइ विकास कार्यालय धनकुटाका सिनियर एशोसिएशन अर्गनाइजर वुद्धिमान लिम्बुले बताए ।‘‘डिप वोरिङ्ग खर्चालु हुन्छ’’,उनले भने–‘‘पहाडी क्षेत्रमा उपयुक्त योजना नै यही हो ।’’ लिम्वुका अनुसार यही गाउँपालिकाको साप्तीङ्गटारमापनि यस्तै डिजाइनको सिचाइ योजना सञ्चालन गर्ने तयारी भईरहेको छ ।

सिंचाई सुविधा पुगे पश्चात् सबै घरपरिवारले व्यवसायिक तरकारी र खाद्यवालीको खेती गर्न थालेका छन् । कृषकहरुले व्यवसायिक रुपमा धान, मकै, कोदो, भटमास, गहुँ , आलु, खुर्सानी , गोलभेंडा लगायतका कृषि उपजहरुको उत्पादन गर्न थालेका छन् । स्थानीय कृषक रेवत भण्डारीका अनुसार व्यवासायिक तरकारी खेतीबाट प्रत्येक घरपरिवारले वार्षिक २ लाख देखि २ लाख ५० हजार सम्म आम्दानी गर्न थालेका छन् । “कुलोबाट पानी निरन्तर आउन थालेपछि मौसम अनुसारको खेती गर्न थाल्यौ , वैशाखमा लगाउने खेतीलाई सिँचाई सुविधाआएपछि फागुन ,चैत्रतमै लगाउन थाल्यौ’’ भण्डारीले–‘‘खेतीलाई अनुकुल समयमा लगाएर सफाईटारका किसानको जिवनस्तर उकास्न यो सिँचाई परियोजनाले महत्वपुर्ण भुमिका खेलेको छ ।’’

 

प्रतिक्रिया दिनुहोस्