Logo

जितको खोजीमा पराजित नेताहरु



रोमन आचार्य
धुलाबारी , २० कात्तिक । झापा क्षेत्र नम्बर दुईमा बाम गठबन्धनका सक्रिय राजनीतिकर्मि पवित्रा निरौला खरेल र काँग्रेस जिल्ला सभापति उद्धव थापा बिच आगामी मङ्सिर २१ गते हुने प्रदेश सभा निर्वाचनमा रोचक प्रतिष्पर्धा हुने भएको छ ।

दोश्रो संविधानसभाको निर्वाचनमा क्षेत्र नम्बर दुईबाट पराजय भोगेका नेकपा(एमाले) नेत्री पवित्रा निरौला(खरेल) र झापा क्षेत्र नम्बर ४ बाट पराजय भोगेका नेपाली काँग्रेसका जिल्ला सभापति तथा नेता उद्धव थापाबिच चुनावी भिडन्त हुने भएको हो ।

दुई नम्बर क्षेत्रबाट निरौलाले काँग्रेस नेता तथा पुर्व सांसद सुधिर कुमार शिवाकोटीसँग पराजय बेहोर्नु परेको थियो भने जिल्ला सभापति उद्धव थापाले निर्वाचन क्षेत्र नम्बर चारबाट पुर्व सांसद तथा एमाले नेता प्रेम गिरिसँग पराजय भोगेका थिए । यसअर्थ , प्रतिनिधि सभाको चुनाव एमाले र काँग्रेस दुवैलाई दोश्रो संविधान सभाको हारको बदला लिने अवसर समेत बनेको छ ।

प्रतिनिधि सभामा यी दुई नेता बाहेक अन्य नौ जना चुनावी मैदानमा उत्रिएका छन् । चुनावकालागि देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालबाट होमचन्द्र घिमिरे , राष्ट्रिय जनतापार्टी नेपालबाट महाबीर राई , मंगोल नेशनल अर्गनाइजेसनबाट अकल बहादुर तामाङ्ग , नयाँ शक्ति पार्टी नेपालबाट भक्त बहादुर बुढाथोकी रहेका छन् । यस्तै एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) वृज किशोर ठाकुर , संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट मान बहादुर साँवा (लिम्बुं) , राष्ट्रिय जनमुक्ति पार्टीबाट प्रशुराम मगर , विवेकशील साझा पार्टी नवीन बाँस्तोला र नेपाल जनता पार्टीका तर्फबाट गणेश प्रसाद शिवाकोटी रहेका छन् ।

प्रदेश सभा निर्वाचन

प्रदेश सभा निर्वाचनमा पनि मुख्य प्रतिष्पर्धीको रुपमा बाम गठबन्धन र नेपाली काँग्रेस रहेका छन् । क्षेत्र नम्बर २ को ‘क’मा आठ जना जितका उद्देश्य साथ चुनावी भिडन्तमा होमिएका छन् । बाम गठबन्धनबाट नेकपा(एमाले)का एकराज कार्कि र नेपाली काँग्रेसका तर्फबाट लक्ष्मण खड्का उम्मेरदवार रहेका छन् । यस्तै राष्ट्रिय जनमुक्ति पार्टीबाट निर्मला एक्तेन , संघीय लोकतान्त्रीक राष्ट्रिय मञ्चबाट रञ्जित मान राई , विवेकशील साझा पार्टीबाट चित्राङ्गद तिम्सिना , मंगोल नेशनल अर्गनाइजेसनबाट राजकुमार लावती , संघीय समाजवादी फोरम नेपालका तर्फबाट तिल बहादुर राई र नेपाल जनता पार्टीका तर्फबाट पदम प्रसाद पौडेल प्रदेश सभा निर्वाचनकालागि उम्मेरदवार भएका छन् ।
क्षेत्र नम्बर २ ‘ख’बाट नेपाली काँग्रेसका खड्ग प्रसाद प्रसाई र नेकपा(एमाले)का बृख बहादुर प्रधान बिच प्रतिष्पर्धा हुने भएको छ । बाम गठबन्धनले प्रधानलाई उम्मेरदवार बनाएको हो । यस्तै सोही क्षेत्रबाट संघीय लोकतान्त्रीक राष्ट्रिय मञ्चका नगेन्द्र राई राष्ट्रिय जनमुक्ति पार्टीका विजय इङ्गनाम(लिम्बु) , विवेकशील साझा पार्टीका विष्णु प्रसाद आचार्य , मंगोल नेशनल अर्गनाइजेसनका मंगल सिंह लिम्ब् , देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका हरि प्रसाद दाहाल , संघीय समाजवादी फोरम नेपालका शिवन सोराली मगर उम्मेरदवार रहेका छन् ।

पोलिटव्युर सदस्यद्वारा उम्मेरदवारी फिर्ता

क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाकालागि उम्मेरदवारी दर्ता गराएका नेकपा (माले)का पोलिटव्युरो सदस्य खगेन्द्र प्रसाद प्रसाईले उम्मेरदवारी फिर्ता लिएका छन् । जिल्ला निर्वाचन कार्यलय झापाले दिएको जानकारी अनुसार उनले कात्तिक १६ गते उम्मेरदवारी दर्ता गराए पनि कात्तिक १९ गते उम्मेरदवारी फिर्ता लिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्