Logo

पत्रकारिताका गुरुः नकुल काजी (हेर्नुहोसः वृतचित्र)



नकुल काजी झापाको पत्रकारितामादोस्रो पुस्ताको पत्रकार हुन् । झापाको पत्रकारितामा काजी धेरैका गुरु हुन् । विक्रम सम्वत् २००२ साल मंसिर २९ गते स्वर्गीय माता सरस्वती पाण्डे र स्वर्गीय पिता प्रेमलाला पाण्डेको कोखबाट ताप्लेजुङको साँगादिन गाविस वडा नम्बर ३ मा जन्मिएका हुन् । उनी पत्रकारिता र साहित्य क्षेत्रमा नकुल काजीबाट स्थापित छन् । उनले भारत दार्जीलिङको सेन्ट रोवर्टस् स्कूलबाट सन् १९६० मा उच्च मावि तहको अध्ययन पूरा गरेका हुन् । दार्जीलिङको सेन्ट जोसेप्mस कलेजमा जीव विज्ञानमा स्नातक गरेका काजी कलेज अध्ययनकै समयदेखि साहित्यप्रति आकर्षित भएका थिए । कलेज पढ्दा–पढ्दै विक्रम सम्वत् २०२२ सालमा दार्जीलिङको सिंहमारीबाट प्रकाशित हुने ‘पुष्प–पल्लव पाक्षिक’ पत्रिका र कलकत्ताबाट प्रकाशित ‘अमृता बजार’ अंग्रेजी दैनिक पत्रिकामा आवद्धभई पत्रकारिता आरम्भ गरेका हुन् । यसैगरी बिक्रम सम्वत् २०२३ सालमा दार्जीलिङबाटै प्रकाशित ‘आवाज पाक्षिक’को सम्पादन समूहमा आवद्ध भए ।


दार्जीलिङको पत्रकारितापछि विक्रम सम्वत् २०२४ सालमा काजी झापा आएका हुन् । झापामा २०२५ सालमा ‘पञ्चायत मासिक’मा आवद्ध भई पत्रकारिता आरम्भ गरे । उनले जिल्ला पञ्चायतले प्रकाशन गर्ने पञ्चायत मासिकमा त्यस समयका प्रभावशाली व्यक्तित्वहरू डाक्टर ऋषिकेश उपाध्याय, रामप्रसाद पोख्रेल, बसन्तकुमार खड्कासँग रहेर पञ्चायत मासिकमा काम गरेका थिए । यसैगरी एस.एल.शर्मा, डिल्लीराम निर्भिक, चुडामणि रेग्मी, गोबिन्दचन्द्र क्षेत्री, दोर्णाचार्य क्षेत्री, प्रहिल घिमिरे, निर्माण कुमार न्यौपाने, कुनाली पराजुलीहरु त्यस समयका स्थापित पत्रकार थिए ।
विक्रम सम्वत् २०२८ साल बैशाख १ गतेबाट काजीले ‘विवेचना’ मासिक प्रकाशन गरेका थिए । २०२९ सालदेखि २०३४ सालसम्म विवेचनालाई काजीले अर्धसाप्ताहिकको रुपमा प्रकाशन गरे । २०४१ सालमा तत्कालीन पञ्चायती सरकारले विवेचनामाथि प्रतिबन्ध लागायो । त्यसपछि काजीले २०४० देखि २०४४ सालसम्म ‘जनध्वनी साप्ताहिक’ र २०४४ देखि २०४५ सम्म दुई वर्ष ‘शनिवार साप्ताहिक’ प्रकाशन गरेका थिए । उनले २०४५ देखि ४७ सालसम्म तत्कालीन पञ्चायती सरकारको प्रेस टाक्सफोर्समा १५ महिना करार सेवा जीवन बिताए । २०४७ देखि ५० सालसम्म ‘बरुण साप्ताहिक’ प्रकाशन गरेका काजीले २०४९ देखि ५० सालसम्म ‘झापा एक्सप्रेस’ दैनिकको सम्पादन गरे ।

विक्रम सम्बत् २०५० सालदेखि २०६६ सालसम्म भने काजीले विवेचना दैनिक प्रकाशन गरे । विवेचनाको प्रकाशन भइरहँदा अंग्रेजी भाषामा ‘ईष्टर्न इको साप्ताहिक’ प्रकाशन तथा सम्पादन गरेका थिए । ईष्टर्न इको साप्ताहिक मोफसलका जिल्लाहरुमा पहिलो अंग्रेजी पत्रिका प्रकाशन हो । यो २०५५ बाट ५९ सालसम्म प्रकाशन भएको थियो । २०६६÷०६७ सालमा काजीको सम्पादनमा ‘पूर्वी प्रतिध्वनी साप्ताहिक’ प्रकाशन भएको थियो । काजीको प्रत्यक्ष सम्पादनमा त्यसयता पत्रिका प्रकाशन नभए पनि आधा दर्जन कृति प्रकाशन भएका छन् ।
साहित्यमा काजी
लेखनीलाई जीवनको पर्याय बनाउनु हुने काजी साहित्य र पत्रकारितालाई सँगै लिएर हिँड्नसक्ने प्रतिभाका धनी छन् । काजीको विक्रम सम्वत् २०१९ सालमा ‘यौवन– तृष्णा’ नामको पहिलो कविता संग्रह प्रकाशन भएको थियो । त्यसै साल ‘जीवन–प्रश्न’ नामको कथा संग्रह, २०२० सालमा ‘मुना’ खण्डकाव्य प्रकाशन भएको थियो । विक्रम सम्बत् २०२५ सालमा काजीले ‘सागर’ उपन्यास प्रकाशन गरेका थिए । यस उपन्यासले काजीलाई एक युवा साहित्यकारको रुपमा स्थापित गरेको थियो । १७ वर्षको उमेरमा कविता संग्रह प्रकाशन गरेका काजीले १८ वर्षको उमेरमा ‘मुना’ खण्डकाव्य र २३ वर्षको उमेरमा ‘सागर’ उपन्यास प्रकाशन गरेका थिए । कलकत्ताबाट प्रकाशित हुने ‘अमृता बजार’ अंग्रेजी दैनिकले पुस्तक समीक्षा स्तम्भमा The Largest Volume in Nepali Literature भनी ‘सागर’ उपन्यासको समीक्षा गरेको थियो ।

?

काजीको उपन्यास लेखन ‘सागर’मा मात्र सीमित भएन । त्यसपछि उनले विक्रम सम्बत् २०२५ सालमा ‘समस्या’, २०२६ सालमा ‘शान्ति’ र २०२७ सालमा ‘गौरी’ नामको उपन्यास प्रकाशन गरे । २०२७ सालमा काजीको देस्रो खण्डकाव्य ‘विद्रोह बोल्छ’ प्रकाशन भएको हो । बि.स. २०२८ सालमा Ninetythree days in the beautiful land of Kanchenjunga नियात्राको पुस्तक प्रकाशन भएको थियो । २०३१ सालमा मनोविश्लेषणमा आधारित ‘सगरमाथाको शान्ति शन्देश’ नामको कृति प्रकाशन भयो । २०३६ सालमा ‘मेरो देशको कविता’ कविता संग्रह प्रकाशन भएको थियो ।
पत्रकारितामा सक्रिय भएका समयमा काजीका साहित्यिक कृति प्रकाशन भएनन् । तर, पत्रिकामा सयौँको संख्यामा राजनीति, साहित्य, समसामयिक विषयमा लेख प्रकाशन भए । काजीका ‘बज्रपात’ स्तम्भ पठनीय मात्र होइन, विकृति र विसंगतीविरुद्ध धावा बोलिएको हुन्थ्यो । काजीले २०२८ सालबाट सुरु गरेको व्यङ्ग्य साहित्यले लोकप्रियता आर्जन गरेको थियो । व्यङ्ग्यमा ‘ऐसेलुको झाङमुनि चिसो पानी, परबाट आयो नरे थापा…’ होस् वा ५० दशक पछि प्रकाशन भएको ‘गौँथलीका बाऊ मूल पात्र भएको व्यङ्ग्यनारान पाँडे’का नामबाट प्रकाशित व्यङ्ग्यले लोकप्रियताको शिखर चुमेका थिए । दिनुहुँ प्रकाशन हुने काजीका व्यङ्ग्यले भाषा, साहित्यको विकासमा मात्र योगदान पुर्याएको थिएन, पत्रकारितामा व्यङ्ग्यको प्रयोग र प्रभाव पनि थियो । सम्भवत नेपालमा समसामयिक बिषयमा सबै भन्दा बढी व्यङ्ग्य काजीले लेखेका छन् । उनले लेखेका व्यङ्ग्य संग्रह गर्दा दर्जनौ पुस्तक निस्कन्छन् ।

नकुल काजीको पत्रकारिता र साहित्य जीवनलाई अध्ययन गर्दा साहित्यिक यात्रा सुस्ताएका बेला पत्रकारिता प्रवल भएर अघि आएको छ भने पत्रकारिता सुस्ताएका बेला साहित्यिक यात्रा प्रवल भएको छ । पत्रकारितामा सम्पादनको काम सुस्ताएसँगै काजीको बि.सं. २०६६ सालमा ‘युद्धको दुव्र्यसन’ कविता संग्रह, २०६७ सालमा ‘क्रान्तिको पहिलो चरण’ उपन्यास प्रकाशन भएको छ । २०७१ सालमा अर्को उपन्यास ‘घरहरु भत्किरहेछन्’ प्रकाशन भएको छ । यस उपन्यासमा बैदेशिक रोजगारले पारिवारिक संरचनामा ल्याउने समस्या र विखण्डनको यथार्थवादी ढंगले चित्रण गरिएको छ ।

नकुल काजी साहित्य र पत्रकारितामा मात्र सिमित भएनन् । उनी पछिल्ला नौं बर्षदेखि अध्यात्मिक विज्ञानको अध्ययनमा लागेका छन् । अध्ययात्मिक अध्ययनकै क्रममा काजीले २०६८ सालमा प्रोफेसर मातावदल जायसवालद्वार लिखित ‘प्रथम प्रणाम’ र मोहन प्रियचार्यको ‘पहिले आफूलाई चिन’को भावनुवाद गरेका छन् । २०६८ सालमै ‘परमहंस गुरुजी मंगलदास–व्यक्तित्व र कृतित्व’ नेपाली र अंग्रेजी भाषामा प्रकाशन भएका छन् । २०६९ सालमा ‘गणतन्त्र र गौथलीको बाउ’ हास्य–व्यङ्ग्यको पुस्तक प्रकाशन भएको छ ।

नकुल काजी निस्क्रियता नरुचाउने व्यक्तित्व हुन् । उनी लेखनीमा मस्ती लिन सक्छन् । उनी घण्टौंसम्म धाराप्रवाह विचार प्रवाह गर्ने क्षमता राख्दछन् । पुराना विषय र कुरालाई स्मरणमा राख्न सक्ने उनमा अद्भूत क्षमता छ । सार्वजनिक समारोहमा त्यति नरमाउने काजीमा एक्लै चिन्तन, मनन् गर्ने र त्यसलाई तत्काल टिपोट गर्ने, टिपोट गरिएका सन्दर्भलाई विचारप्रवाह वा लेखमा समावेश गर्ने राम्रो कला छ ।
पत्रकारिताका महाविद्यालय
नकुल काजी नेपाली, अंग्रेजी, हिन्दी र बंगाली भाषा साहित्यमा राम्रो दख्खल राख्खछन् । उनी ‘भाषा बिगार्ने अधिकार कसैलाई छैन’ भन्छन् । पत्रिका प्रकाशनका समयमा भाषा र व्याकरण बिगारेर समाचार बनाउने पत्रकारलाई काजी सधैं तीखो आलोचना गर्दछन् । काजीले प्रकाशन गरेका सबै पत्रपत्रिकामा भाषा उत्कृष्ठ हुन्थे । झापाको पत्रकारितामा नकुल काजी भनेको विवेचना र विवेचना भनेको नकुल काजी भन्ने अवस्था थियो । विवेचना र काजी एक अर्काका पर्याय हुन् भन्दा अन्यथा हुँदैन । आज पनि विवेचनाका पाठक काजीको तिख्खर लेखाई स्मरण गर्दछन् ।
झापामा पत्रकार आफैँले समाचार लेखन गर्ने र व्याकरण पनि हेर्ने परम्पराको थालनी गराउने श्रेय काजीलाई दिँदा अन्यथा हुँदैन । अहिले पनि धेरै जिल्लामा पत्रिकाको व्याकरण गैरपत्रकारले हेर्ने अभ्यास छ । तर, काजीले सुरु गरेको यो अभ्यास झापाको पत्रकारितामा मौलिक पहिचान बनेको छ । पत्रिकामा भाषा र व्याकरण बिगार्ने सहकर्मीप्रति निकै कठोर बन्ने काजीको विशेषता बनेको थियो । काजीको सम्भौता नगर्ने स्वभावले उनीसँग काम गर्ने धेरै पत्रकारले आप्mनो भाषा र व्याकरण सुधार्ने अवसर पाए ।

                                                                  (हेर्नुहोसः नकुल काजीको वृतचित्र)

पाँच दशकबाढी समयसम्म कलम चलाउनु हुने काजीले जीवनमा साहित्य र पत्रकारिता भन्दा अन्य कुनै पेशा अपनाएनन् । पत्रकारिता र साहित्यको श्रीवृद्धि नै काजीको पेशागत चरित्र बन्यो । उनका नजिक बसेर विवेचना दैनिकमा दर्जनौँ पत्रकारले आप्mनो सीप विकास गरेका छन् । विवेचना दैनिक झापाली पत्रकारका लागि महाविद्यालय नै बन्यो । नकुल काजीसँग निकट रहेर गोपिकृष्ण खनाल, भरत कोइराला, मदन ढकाल, कृष्ण आचार्य, तारा बराल, अखण्ड भण्डारी, खगेन्द्र भण्डारी, मोहन काजी, युवराज गौतम, बिष्णु सिवाकोटी, टंक आचार्य, दिपीन राई, गोपाल गड्तौला, राजु अधिकारी, पर्वत पोर्तेल, झुलन रेग्मी, दिपक अधिकारी, रोहित काफ्ले, मुक्ति पौडेल, लक्ष्मी उप्रेती, फडिन्द्र संगम, हिमाल बिरही लगायत दर्जनौं पत्रकारले विवेचनाबाट पत्रकारिता आरम्भ गरेका हुन् ।

काजीको विवेचना लगायतका पत्रिकामा गोपाल गिरी, गञ्जबहादुर दाहाल, राजबाबु शंकर, गणेश पोख्रेल, तारामणि सापकोटा लगायतका पत्रकारले पत्रकारिताको अभ्यास गरेका थिए । विवेचनाबाट पत्रकारिता आरम्भ गर्ने वा आवद्ध भएर काम गर्ने कतिपय पत्रकार आज राष्ट्रियस्तरका ठूला सञ्चारमाध्यमका उच्च तहमा कार्यरत छन् ।
काजीले सञ्चालन गरेको सञ्चार संस्थामा पत्रकार मात्र होइन, दक्ष टिइपिस्ट र डिजायनर पनि उत्पादन भएका छन् । उनीसँग बसेर काम गर्ने डिजायनरको भाषा र व्याकरणमा निखारता आएको छ । एकराज प्रधान, इन्द्र चौधरी, महेन्द्र शर्मा, विष्णु सुब्बा, शुिसला संग्रौला लगायतले आफ्नो सीपमा त्यसैसमय अवधिमा परिमार्जन ल्याएका हुन् ।

लेटर प्रेसबाट पत्रिका प्रकाशन गर्नुपर्ने कठिन अवस्थामा पनि पत्रिकालाई निरन्तरता दिनु आफैंमा चुनौतीपूर्ण कार्य थियो । त्यस्तो कठिन अवस्थामा अन्य पेशामा संलग्न नभई पत्रकारितालाई निरन्तरता दिने काजीको कार्य झापाली पत्रकारितामा महत्वपूर्ण योगदान हो । पत्रकारिता पेशामा लागेका काजीको पाँच दशक अघिको आर्थिक स्थितिमा कुनै बदलाव आएको छैन । विवेचना प्रकाशन हुने भद्रपुरको घर आजै पनि त्यही रुपमा छ । पत्रकारिता सेवामूलक पेशा हो भन्ने बुभ्mनु भएका काजीले लेखनीलाई जीवनको एक हिस्सा बनाएका छन् ।
पुरस्कार र सम्मान
झापाको पत्रकारिता र साहित्यिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने काजी दर्जनौँ संघसंस्थाबाट सम्मानित भएका छन् । नेपाल पत्रकार महासंघ झापा शाखाद्वार स्थापित मोतिराम पत्रकारिता पुरस्कारबाट पहिलो पटक २०५३ सालमा उनी सम्मानित तथा पुरस्कृत भए । २०५२ सालमा श्यामकृष्ण पत्रकारिता पुरस्कार, २०६० सालमा शिशु पत्रकारिता पुरस्कार राजविराव, नेपाल आदिवासी जनजाति संघ झापाद्वार २०६७ सालमा काजीलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । पत्रकारितामा योगदान पुर्याए वापत काजीलाई भद्रपुर नगरपालिकाले २०५५ सालमा अभिनन्दन गरेको थियो । २०६५ सालमा ‘नौलो आवाज’ साप्ताहिक भद्रपुर र ‘जनसंसद्’ दैनिक काँकरभिट्टाले सम्मान गरेको थियो ।

नकुल काजी पत्रकारिता क्षेत्रबाट मात्र होइन, भाषा र साहित्यको क्षेत्रमा पनि त्यत्तिकै सम्मानित व्यक्तित्व हुन् । उनले भाषा र साहित्यको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै भाषाशास्त्री महानन्द सापकोटाको स्मृतिमा स्थापित महानन्द पुरस्कारबाट २०६० सालमा पुरस्कृत तथा सम्मानित भएका छन् । काजीलाई भानुभक्त आचार्य द्यतसत्वार्षिक समारोह समितिद्वार प्रसंशा पत्रसहित स्वर्ण पदकद्वारा सम्मान गरिएको छ ।
झापाका पहिलो पुस्ताका पत्रकार स्वर्गिय एसएल शर्माको स्मृतिमा स्थापित एस.एल. शर्मा सिर्जनशील पत्रकारिता पुरस्कारबाट काजीलाई परस्कृत तथा सम्मान प्रदान गरिएको छ ।
यसैगरी, जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठान झापा, नवरंग साहित्य प्रतिष्ठान धरमपुर, साहित्य चौतारी विर्तामोड, समता साहित्यिक परिवार इलाम लगायतका दर्जनौँ साहित्यिक संघ संस्थाले सम्मान तथा पुरस्कार प्रदान गरेका छन् ।

(नेपाल पत्रकार महासंघ झापाद्वारा स्थापित स्थापित एस.एल. शर्मा सिर्जनशील पत्रकारिता पुरस्कारबाट २०७२ साल चैत्र १६ गते काजीलाई परस्कार तथा सम्मान प्रदान गरिएको थियो । त्यस अवसरमा नेपाल पत्रकार महासंघ झापा शाखाद्वार तयार गरिएको काजीको वृतचित्रका शब्द तारामणि सापकोटा, स्वर केशव भट्टराई र दृष्य सम्पादन बिनोद पाण्डे गरेका हुन् ।)

प्रतिक्रिया दिनुहोस्