सुनसरी, ११ साउन । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार गोली लागेर गम्भीर घाइते भएका स्थानीय ओमप्रकाश मेहताको उपचारका क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा मृत्यु भएको हो।
प्रहरीका अनुसार दुई समूहबीचको विवाद हिंसात्मक बनेपछि स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले गोली चलाएको थियो। घटनामा गोली लागेर आठ जना सर्वसाधारण घाइते भएका छन्।
घाइतेमध्ये मिथलेश यादव (२२), अमलेश मेहता (१८), मिथलेश मेहता (२५) र अमितकुमार यादव (२०) को कोशी अस्पतालमा उपचार भइरहेको छ। त्यस्तै रविन्द्र मेहता (२१), अमितकुमार यादव (१८), सुनिलकुमार मेहता (२५) र सुनिलकुमार मेहता (२६) को विराट नर्सिङ होममा उपचार भइरहेको प्रहरीले जनाएको छ।
झडपमा प्रहरी निरीक्षक राकेश राईसहित आठ जना सुरक्षाकर्मी पनि घाइते भएका छन्। घाइते हुनेमा प्रहरी नायब निरीक्षक गणेशनारायण श्रेष्ठ, प्रहरी वरिष्ठ हवल्दार अमरलाल यादव, प्रहरी रामबहादुर राई, प्रहरी विजय यादव, प्रहरी सहायक निरीक्षक नवराज पोखरेल, प्रहरी बुद्धदेव साह र प्रहरी जवान निवेश यादव रहेका छन्।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।






