काठमाडौं, १९ असार । मुलुकभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केही प्रदेशका पहाडी तथा तराई भूभागमा भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने अनुमान गरिएको छ। पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ भने उच्च हिमाली भेगका केही स्थानमा हल्का हिमपात पनि हुन सक्ने जनाइएको छ। तराईका केही क्षेत्रमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
रातिको समयमा पनि मौसमको यही क्रम जारी रहने महाशाखाको पूर्वानुमान छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही स्थान तथा कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हल्का हिमपात हुन सक्ने अनुमान गरिएको छ। साथै पहाडी र तराई क्षेत्रका केही स्थानमा पनि वर्षा हुने सम्भावना रहेको छ।
महाशाखाले विशेषगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने चेतावनी दिएको छ। सम्भावित वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने, डुबान तथा पहिरोको जोखिम रहने भएकाले नदी तटीय क्षेत्र र पहिरोको उच्च जोखिम भएका स्थानका बासिन्दालाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।






