काठमाडौं, २७ असार । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि अधिकांश क्षेत्रमा वर्षा हुने सम्भावना रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ सरेकाले मौसममा व्यापक परिवर्तन आएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा मधेस प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। पहाडी भूभागका धेरै स्थान र तराईका केही क्षेत्रमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ।
महाशाखाले कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गर्दै सतर्कता अपनाउन आग्रह गरेको छ।
रातिको समयमा पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको छ भने कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका धेरै स्थानमा वर्षा हुने अनुमान गरिएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
यस्तै राति गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा कोशी प्रदेशका पहाडी र गण्डकी तथा लुम्बिनी प्रदेशका तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले नदी तटीय क्षेत्र, पहिरोको जोखिम भएका स्थान तथा डुबान हुन सक्ने क्षेत्रमा विशेष सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।






