Logo

आपूर्ति सहज, बजारमा ग्यास अभाव किन? डिपोमा प्रहरीको निगरानी



काठमाडौं, २४ साउन । खाना पकाउने ग्यासमा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी भइरहेको गुनासो बढेपछि सरकारले काठमाडौं उपत्यकाका विभिन्न ग्यास डिपोमा निगरानी कडा बनाएको छ ।

गृह मन्त्रालय र उद्योग मन्त्रालयको समन्वयमा आइतबार बिहानदेखि ग्यास डिपो तथा बिक्री केन्द्रमा अनुगमन र निगरानी सुरु गरिएको हो । सम्भावित कालोबजारी नियन्त्रणका लागि विभिन्न डिपोमा सादा पोसाकका प्रहरीसमेत परिचालन गरिएको छ ।

भारतबाट ग्यास आयातमा समस्या नरहेको अवस्थामा बजारमा अचानक अभाव देखिएको र केही स्थानमा तोकिएको मूल्यभन्दा बढीमा ग्यास बिक्री भइरहेको गुनासो उद्योग मन्त्रालयमा पुगेपछि उद्योगमन्त्री गौरी यादवले विषयमा चासो लिनुभएको थियो ।

आपूर्ति सहज हुँदाहुँदै ग्यास लुकाउने, कृत्रिम अभाव सिर्जना गर्ने तथा उपभोक्तासँग बढी मूल्य असुल्ने गतिविधि भइरहेको पाइएपछि नियन्त्रणका लागि मन्त्री यादवले गृहमन्त्री सुदन गुरुङसँग आवश्यक अनुगमन तथा प्रहरी परिचालनका लागि आग्रह गर्नुभएको थियो ।

उक्त आग्रहपछि गृहमन्त्री गुरुङले प्रहरी प्रशासनलाई आवश्यक निर्देशन दिनुभएको बताइएको छ । सोही निर्देशनअनुसार उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी खटाएर आपूर्ति, बिक्री–वितरण र मूल्य अवस्थाबारे निगरानी भइरहेको छ ।

प्रहरीले ग्यास लुकाउने, कृत्रिम अभाव सिर्जना गर्ने, तोकिएको मूल्यभन्दा बढी रकम असुल्ने वा अन्य कुनै प्रकारको कालोबजारी गरेको भेटिए तत्काल कारबाही गर्ने गरी अनुगमन गरिरहेको जनाएको छ ।

गृह मन्त्रालयका अनुसार उपत्यकामा भइरहेको अनुगमनबाट प्राप्त सूचना तथा अवस्थाको मूल्याङ्कनपछि आवश्यक परे देशका अन्य जिल्लाका ग्यास डिपो तथा बिक्री केन्द्रमा समेत निगरानी विस्तार गरिनेछ ।

सरकारले आपूर्ति सहज रहेको अवस्थामा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तालाई दुःख दिने वा तोकिएको मूल्यभन्दा बढीमा ग्यास बिक्री गर्ने कार्य स्वीकार्य नहुने स्पष्ट पारेको छ । कालोबजारी नियन्त्रणका लागि बजार अनुगमनलाई थप प्रभावकारी र कडाइका साथ अघि बढाउने सरकारको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्