झापा, १ असार । कन्काई नगरपालिकामा मोटरसाइकलमा लिफ्ट दिएर महिलाको सुनको गहना लुट्ने एक युवक पक्राउ परेका छन्।
शनिबार साँझ करिब ७:४५ बजे कन्काई–२ जामुनबारी जाने बाटोमा पाँचथर फिदिम–४ घर भई हाल कन्काई–४ कोटीहोममा बस्दै आएका २२ वर्षीय जीवन तामाङले कन्काई–३ टप्पु चौककी ५० वर्षीया बिमला लिम्बु भुजेललाई घर पुर्याइदिने भन्दै आफ्नो मोटरसाइकलमा चढाएका थिए।
तर, कन्काई–१ र २ को सिमाना बाघे खोलाको पुल नजिक उनले महिलाको कानमा रहेको सुनको मुन्द्रा लुटेको प्रहरीले जनाएको छ। घटनापछि महिलाले होहल्ला गरेपछि स्थानीयवासी भेला भई आरोपीलाई नियन्त्रणमा लिएका थिए।
स्थानीयको कुटाइबाट घाइते भएका तामाङलाई सुरुमा कन्काई नगर अस्पताल सुरुङ्गामा लगिएको थियो। थप उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइए पनि पछि डिस्चार्ज गरी इलाका प्रहरी कार्यालय अनारमनीमा ल्याएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार लुटपाटमा प्रयोग गरिएको मोटरसाइकल, २ थान सुनको मुन्द्रा, एक ओपो मोबाइल र नगद ३ हजार रुपैयाँ बरामद गरिएको छ। पीडित महिलालाई भने आफन्तको जिम्मा लगाइएको छ।








