Logo

कोशीमा भारी वर्षाको सम्भावना, हिमाली र पहाडी भेगमा हिमपात



काठमाडौं, ३० जेठ । नेपालमा हाल पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभावका कारण देशभर मौसममा बदली देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार अहिले कर्णाली र सुदूरपश्चिम प्रदेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा सामान्य बदली रहेको छ भने बाँकी क्षेत्रमा आंशिक बदली छ। यसै प्रभावका कारण कोशी प्रदेशका केही स्थान तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो कोशी प्रदेशलगायत देशका हिमाली र पहाडी भू-भागमा सामान्य बदली रहने अनुमान गरिएको छ। तराई क्षेत्रमा भने आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थान तथा अन्य पहाडी र तराई भू-भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। साथै उच्च हिमाली र पहाडी क्षेत्रमा हिमपात समेत हुन सक्ने अनुमान गरिएको छ।

रातिको समयमा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।

महाशाखाका अनुसार राति कोशी र मधेश प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। विशेषगरी कोशी प्रदेशका केही स्थानमा भारी वर्षा समेत हुन सक्ने भएकाले सावधानी अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्