काठमाडौं, १ जेठ । नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा न्यून चापीय क्षेत्रको संयुक्त प्रभावका कारण मौसममा उल्लेखनीय परिवर्तन देखिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका विभिन्न भागमा बदली हुनुका साथै केही क्षेत्रमा वर्षा र हिमपात भइरहेको छ ।
हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा साधारणतया बदली रहेको छ भने अन्य स्थानमा आंशिक बदलीको अवस्था रहेको महाशाखाले जनाएको छ । बागमती र गण्डकी प्रदेशका केही स्थान तथा कोशी प्रदेशका थोरै क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो पनि कोशी, बागमती र गण्डकी प्रदेशसहित देशका अधिकांश पहाडी क्षेत्रमा मौसम बदली रहने सम्भावना छ । केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुन सक्ने अनुमान गरिएको छ ।
यस्तै, रातिको समयमा पनि मौसमको प्रभाव कायम रहने देखिएको छ । विशेषगरी कोशी र मधेस प्रदेशका केही स्थानका साथै बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा वर्षाको सम्भावना रहेको छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ । मौसममा आएको खराबीका कारण हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैलाई आग्रह गरेको छ ।





