Logo

झापामा कार र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु



काठमाडौं, २ साउन । झापाको गौरीगञ्ज गाउँपालिका–२ कृष्ण खोला नजिक हुलाकी राजमार्गमा कार र मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा कार चालक घाइते भएका छन्।

शुक्रबार साँझ गौरीगन्ज–२ कृष्ण खोला नजिक हुलाकी राजमार्गमा भएको दुर्घटनामा मोरङको रतुवामाई नगरपालिका–५ गोविन्दपुरका ३० वर्षीय मोहमद नुर स्लाम र सोही ठाउँका ३५ वर्षीय एनबी मोजाबुल हकको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मोहमद नुर मोटरसाइकल चालक हुन्। हक मोटरसाइकलको पछाडि सवार थिए।

पूर्वतर्फ जाँदै गरेको प्र.१-०२-००२ च ५१०१ नम्बरको कारले विपरीत दिशाबाट आउँदै गरेको बीआर ३८ एच ५५४७ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो १ बजेतिर ठक्कर दिँदा उनीहरु गम्भीर घाइते भएका थिए।

मोटरसाइकल चालक स्लामको झापाको दमकस्थित दमक अस्पतालमा उपचारका क्रममा र हकको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो

कार चालक विराटनगर महानगरपालिका–१३ निवासी ३५ वर्षीय विवेक सिंह घाइते भएका छन्। उनको विराटनगरस्थित विराट नर्सिङ होममा उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्