झापा, ७ साउन । जिल्ला अदालत झापाले आर्थिक वर्ष २०८२/८३ मा दर्ता तथा जिम्मेवारीमा रहेका कुल ७ हजार ५४९ मुद्दामध्ये ४ हजार ५३५ वटा मुद्दा फर्छ्योट गर्दै ६० दशमलव ०२ प्रतिशत प्रगति हासिल गरेको छ।
अदालतले ६५ प्रतिशत मुद्दा फर्छ्योट गर्ने लक्ष्य राखे पनि विभिन्न कारणले निर्धारित लक्ष्य हासिल गर्न नसकिएको जिल्ला अदालत झापाका प्रमुख न्यायाधीश उमेशप्रसाद लुइँटेलले जानकारी दिए। उनका अनुसार जेनजी आन्दोलन, त्यसबाट अदालतको केस म्यानेजमेन्ट प्रणालीमा परेको प्रभाव तथा संघीय संसद्को निर्वाचनलगायत कारणले लक्ष्यअनुसार काम गर्न कठिनाइ भएको हो।
अदालतका अनुसार अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेका ३ हजार २३२ र चालु आवमा दर्ता भएका ४ हजार ३१७ गरी कुल ७ हजार ५४९ मुद्दामध्ये ३ हजार १४ वटा मुद्दा अझै फैसला हुन बाँकी छन्।
आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट कार्यसम्पादन गर्ने न्यायाधीश पारसमणि पोखरेललाई सम्मान गरिएको छ। उनको इजलासबाट एक वर्षमा ६२७ वटा मुद्दाको फैसला भएको अदालतले जनाएको छ।
अदालतका श्रेस्तेदार उपसचिव डिल्लीराम प्रसाईंका अनुसार बढ्दो मुद्दाको चापका बाबजुद उपलब्ध स्रोत–साधनको अधिकतम उपयोग गर्दै छिटो, निष्पक्ष, पारदर्शी र जवाफदेही ढंगले न्याय सम्पादन गरिएको छ।
सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन अदालतले मुद्दाको प्रकृतिअनुसार वर्गीकरण, स्वचालित पेशी प्रणाली, इजलास छनोटमा गोला प्रथा, अनलाइन सुनुवाइ तथा अनलाइन तारेखजस्ता व्यवस्था कार्यान्वयनमा ल्याएको जनाएको छ। साथै, मुद्दाको प्रगति र फैसलाको विवरण अदालतको वेबसाइटमार्फत पनि हेर्न सकिने व्यवस्था गरिएको छ।
हाल जिल्ला अदालत झापामा नौ जना न्यायाधीशको दरबन्दी रहेको छ।






