काठमाडौं, २ साउन । जल तथा मौसम विज्ञान विभागले मनसुन सक्रिय रहेकाले आजदेखि आगामी तीन दिनसम्म देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ। सम्भावित वर्षासँगै बाढी, पहिरो र भूक्षयको जोखिम बढ्न सक्ने भन्दै विभागले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालका तराई आसपास तथा पूर्वतर्फ सरदर स्थानकै आसपास रहेकाले वर्षाको गतिविधि थप सक्रिय हुने अनुमान गरिएको हो।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। अधिकांश पहाडी तथा तराई भूभागमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ भने हिमाली क्षेत्रमा वर्षासँगै केही स्थानमा हिमपात पनि हुन सक्ने विभागले जनाएको छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका थोरै स्थानमा भारी वर्षा तथा एक–दुई स्थानमा धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि भारी वर्षाको पूर्वानुमान गरिएको छ।
रातिको समयमा पनि वर्षाको क्रम जारी रहने विभागले जनाएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा धेरै भारीदेखि अति भारी वर्षा हुन सक्ने भएकाले विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।
विभागका अनुसार भारी वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्र, पहिरोको जोखिम भएका बस्ती तथा सडकमार्गमा विशेष सतर्कता अपनाउन आवश्यक छ। साथै मौसमको प्रतिकूल प्रभावले दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायातमा समेत असर पर्न सक्ने भएकाले विभागले नियमित मौसम सूचना पछ्याउन आग्रह गरेको छ।






