काठमाडौं, १० जेठ । मौसम पूर्वानुमान महाशाखा का अनुसार नेपालमा हाल पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको मिश्रित प्रभाव रहेको छ।
यसका कारण देशभर आंशिकदेखि सामान्य बदली भएको छ भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
महाशाखाले आज दिनभर र रातिको समयमा पनि यस्तै मौसमी अवस्था कायम रहने जनाएको छ।
यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहने अनुमान गरिएको छ। मधेश प्रदेशसहित अन्य प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ। साथै मधेश, बागमती र गण्डकीका तराई क्षेत्र तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने जनाइएको छ।
तराईमा ‘लू’ चल्न सक्ने
सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा तातो दिन रहने तथा तराई भूभागमा तातो हावा अर्थात् ‘लू’ चल्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
त्यस्तै मधेश र कोशी प्रदेशका तराईका केही स्थानमा हावाहुरी चल्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
रातिको मौसम
आज राति पनि कोशी प्रदेशसहित हिमाली भूभागमा सामान्य बदली रहनेछ। बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा आंशिक बदली रहने अनुमान छ भने अन्य स्थानमा मौसम मुख्यतया सफा रहनेछ।
रातिको समयमा पनि कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा वर्षा जारी रहने सम्भावना रहेको छ। साथै लुम्बिनी र कर्णालीका पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।








