काठमाडौं, २७ जेठ । आज देशका विभिन्न भूभागमा आंशिकदेखि सामान्य बदली रहने तथा केही स्थानमा मेघगर्जन–चट्याङसहित वर्षाको सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी प्रदेशसहित देशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ भने तराईका अधिकांश क्षेत्रमा आंशिक बदली रहनेछ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली–पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ। सुदूरपश्चिम प्रदेशको तराईका एक–दुई स्थानमा पनि वर्षाको सम्भावना रहेको छ।
महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा आज पनि तातो दिनको अवस्था कायम रहने सम्भावना छ।
रातिको समयमा देशभर सामान्य बदली रहनेछ। मधेश प्रदेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा तथा कर्णालीसहित अन्य प्रदेशका हिमाली भूभागमा मेघगर्जन–चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका थोरै र तराईका एक–दुई स्थानमा पनि वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।








