काठमाडौं, ५ जेठ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ ।
महाशाखाका अनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ । मधेश प्रदेशसहित अन्य प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ भने अधिकांश तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।
कोशी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थान र बागमती तथा गण्डकी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । साथै मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराईसहित अन्य पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।
सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा तापक्रम बढ्ने सम्भावना पनि औँल्याइएको छ ।
आज राति भने कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ । यी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।







